गृहपृष्ठ परपुरुषसँग सम्बन्ध राखेको आरोपमा कपाल मुण्डन गरेर मलमुत्र खुवाइयो
परपुरुषसँग सम्बन्ध राखेको आरोपमा कपाल मुण्डन गरेर मलमुत्र खुवाइयो
परपुरुषसँग लसपस गरेको आरोपमा हुम्लामा एक महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।
जिल्ला सदरमुकाम सिमकोट ७ आख्रेनकी २३ वर्षीया महिला र २७ वर्षीय पूरूषबीच भएको फोन संवादलाई लिएर अनैतिक सम्बन्धको अरोप लगाउँदै श्रामानसहितका स्थानीयले अमानवीय व्यवहार गरिएका हुन् ।
नातापर्ने पूरुषलाई महिलाका श्रीमान् र उनका आफन्तहरू मिलेर जुत्ताको माला लगाएर, गाउँ घुमाएर, कपाल मुण्डन गरी दिसासमेत खुवाएको पीडित महिलाले बताएकी छन् । अनैतिक सम्बन्ध राखेको आरोपमा शुक्रबार बिहान उक्त महिलाका श्रीमान् धनबहादुर शाहीलगायतले महिलालाई यस्तो व्यवहार गरेका हुन् ।
हुम्लाका शाहीहरुले विभिन्न प्रकारका विवाद र मुद्दाहरु छिनोफानो गर्ने ‘बारो’ नामक परम्परागत धर्म कचहरीको उपमा पाएको स्थानमा लगेर खम्बामा बाँधेर यातना दिएको उनीहरुले बताएका छन् । करीब तीन चार घण्टासम्म यस्तो अमानवीय यातना दिएर पनि नपुगेर अझै दुबैलाई नांगै बनाउने काम गरेको थियो । ‘विभिन्न यातना दिएर पनि फेरि नांगै बनाएर गाउँ घुमाउने तयारीमा थिए । केही व्यक्तिहरूको अग्रहमा उनीहरूलाई रोकेको थियो ।’ पीडित महिलाले भनिन् ।
गाउँबाट भागेर पीडित महिला जिल्ला प्रहरी कार्यालय आइपुगेकी थिइन् । गाउँले सबै आएर कुट्दा आफ्नो ज्यानभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले प्रहरीसमक्ष बताइन् ।
गाउँलेले दोषी बनाएका देवर भाउजू दुइटैका छोरा छोरी पनि छन् । मोबाइल साँटफेर गरेको निहुँमा यस्तो जघन्य अपराधमा गाउँका केही राजनीतिक दलका अगुवाहरु र अन्य जनमानस पनि समावेश भएको पीडितहरुले बताए ।
कुटपिट गर्ने श्रीमानसहित ८ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको छ । घटना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले भने, ‘दोषी भए पनि कानुनी उपचार खोज्नुको सट्टा कानुन हातमा लिएर कुटपिट गर्ने, मोसो लगाउने, दिसा खुवाउने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ ।’
प्रकाशित समय १०:३८ बजे

















