गृहपृष्ठ सात सय कैदीलाई कोरोना संक्रमण, आठको मृत्यु
सात सय कैदीलाई कोरोना संक्रमण, आठको मृत्यु
मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड- १९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए ।
त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ संक्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङमा एक/एक जनाको निधन भएको सापकोटाले बताए । उनका अनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पीसीआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ ।
विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ । संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ । आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताए ।
शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ । विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ ।
प्रकाशित समय १९:३५ बजे

















