गृहपृष्ठ मन्त्रिपरिषद् निर्णय : सबै प्रकारका परीक्षा गर्न स्वीकृति

मन्त्रिपरिषद् निर्णय : सबै प्रकारका परीक्षा गर्न स्वीकृति

सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थालाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो ।

बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यावसायिक तालिम प्रदायक संस्थालाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७५ संशोधन गर्ने तथा मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयबाट स्थगन भएको राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तिसम्बन्धी प्रक्रियालाई सञ्चालन गर्ने स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै शिक्षक सेवा आयोगका अध्यक्ष र एक महिलासहित अन्य दुई सदस्यको नियुक्तिका लागि सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षका अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको सिफारिश समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्कीलाई तोक्ने र कार्यकारी निर्देशकमा वरिष्ठ कृषि अर्थ विज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साउदी अरबको जेद्दामा रहेको राजपत्रांकित प्रथम श्रेणी (प्रशासन समूह), सहसचिवस्तरको दरबन्दी चीनस्थित नेपाली महावाणिज्यदूतावास छेन्दुमा स्थानान्तरण गर्ने, राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत २०७७/०७८ का लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौँका लागि सात र ‘डिजास्टर रिकभरी’ केन्द्र हेटौँडाका लागि नौसहित १६ तथा विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७/०७८ का लागि पाँच अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

यसैगरी अवैतनिक वाणिज्यदूतसम्बन्धी (पाँचौँ संशोधन) नियमावली, २०३९ मा भएको व्यवस्थाबमोजिम केही अवैतनिक महावाणिज्यदूतको पदावधि थप गरिएको छ । इरानको तेहरानमा कार्यरत अवैतनिक महावाणिज्य दूत शाहरम शान्तियाइ, मलेसियाको सेलेंगार सहरमा कार्यरत अवैतनिक वाणिज्यदूत तोयो स्वी लेङ, इण्डोनेसियाको जाकार्तामा कार्यरत अवैतनिक वाणिज्यदूत बल्ली सुपुत्र जनो सती, इजरायलको हाइफा र वीरशेभा शहरमा कार्यरत अवैतनिक वाणिज्यदूत क्रमशः निमरड वर्ग र इयान नीरको पदावधि आगामी चार वर्षका लागि थप गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

यस्तै अमेरिकाका इलिनोइस, मेरिल्याण्ड र ओहियो सहरमा कार्यरत महावाणिज्यदूत क्रमशः मरभिन ए ब्रस्टिन, प्रेमराजा महत र डा. विलियन सी, क्यासेल तथा अमेरिकाकै हवाई र सियाटल सहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत क्रमशः मेरी सी क्यारोल र एसी शेर्पाको अवधि आगामी चार वर्षका लागि थप गर्ने निर्णय गरिएको बताइएको छ ।

यसैगरी बेल्जियमको फ्ल्याण्डर्स क्षेत्रमा इन्ग्रिड सेस्टर्स-ल्युटेनलाई आगामी चार वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूतमा नियुक्त गर्ने, ग्रीसको एथेन्स सहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत इम्मानोइल काराभेलाकिसको पदावधि आगामी चार वर्षलाई थप गर्ने र निजलाई महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय भएको छ । यस्तै लेबनानको बेरुत सहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत एलशेख मोहमद वासम गोजायललाई प्रशंसनीय कार्य गर्दै आइरहेकाले महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय भएको छ ।

प्रकाशित समय १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु