गृहपृष्ठ नियमित सञ्चालनको पर्खाइमा सुदूरपश्चिमका विमानस्थल
नियमित सञ्चालनको पर्खाइमा सुदूरपश्चिमका विमानस्थल
बैतडीको पाटन विमानस्थल ।
सुदूरपश्चिमका पहाडी जिल्लास्थित ३ विमानस्थलको गत शनिबार एकैदिन उद्घाटन भयो । बैतडी, बझाङ, र डोटी विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले उद्घाटन गरेका हुन् । योसँगै उत्साहित बनेका सुदूरपश्चिमवासी विमानस्थलको अवस्था उद्घाटनमै सीमित रहने हो कि भन्ने आशंकामा पनि छन् ।
विमानस्थल कालोपत्रेपश्चात मन्त्री भट्टराई चार्टर विमान चढेर उद्घाटन गर्न सुदूरपश्चिम आएका हुन् । वषौँ पुराना ति विमानस्थल केही जनयुद्धका बेला त केही यातायातको पहुँच पुगेसँगै बन्द भएका थिए । विमानस्थल उद्घाटनसँगै अब नियमित उडान गरिनेसमेत मन्त्री भट्टराइले दावी गरेका छन् । पहाडी जिल्लाका विमानस्थलमा नियमित उडान भए पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पनि उनले बताए ।
मन्त्रीकै उपस्थितिमा विमानस्थल कालोपत्रे भए पनि नियमित उडान हुनेमा भने स्थानीयवासी अझै विश्वस्त छैनन् । कालोपत्रे गर्न बाँकी अन्य विमानस्थलको काम पनि तत्काल सुरु गर्नुपर्नेमा यस क्षेत्रका बासिन्दाको माग छ । धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गरेर यहाँबाट पहाडी जिल्लामा उडान गर्नसके पर्यटन तथा आर्थिक क्षेत्रमा निकै फड्को मार्ने पर्यटन व्यवसायीको भनाइ छ । विमानस्थल उद्घाटनमा मात्रै सीमित नराखी नियमित उडान गर्नुपर्नेमा नाटा सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टको जोड छ ।
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गरेर पहाडी जिल्लामा नियमित उडान गर्नुपर्ने अध्यक्ष भट्टले बताए । ‘विगतजस्तै उद्घाटनका लागि मात्रै उद्घाटन नहोस् यहाँका जनताको विश्वास तोड्ने काम अब पनि भए यहाँका जनताले सराप्ने छन्,’ उनले भने । सबै जिल्लामा एकैपटक उडान गर्न नसके पनि आवश्यकता बढी कुन क्षेत्रमा छ त्यसमा उडान तत्काल सुरु गर्नुपर्छ,’ उनले भने, ‘धनगढी विमानस्थलमा १/२ वटा हेलिकप्टर तयारी अवस्थामा राखिनुपर्छ । अनि यहाँका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्छ ।’
यस क्षेत्रका राजनीतिक नेताहरुले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नारा बाँडे पनि धनगढी विमानस्थल क्षेत्रीयस्तरको समेत हुन सकेको छैन । यो विमानस्थल क्षेत्रीय विमानस्थलका रुपमा विकास भए पहाडी जिल्ला र यहाँबाट अन्य प्रदेशमा समेत उडान गर्न सकिने व्यवसायीको भनाइ छ ।
यसरी सुदूरपश्चिमको पर्यटकीय विकास मात्रै नभएर अन्य प्रदेशको समेत पर्यटन प्रवद्र्धन हुने कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुस्कर ओझाको भनाइ छ । ‘धनगढी विमानस्थलमा अभाव भएका समान थपेर यसलाई क्षेत्रीय विमान स्थल बनाउनुपर्छ,’ ओझाले भने, ‘यसलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन त अझै समय लाग्ला तर काठमाडौँबाट दिल्ली हुने उडानलाई यो बाटो भएर धनगढी विमानस्थलमा ५ मिनेट भए पनि अवतरण गरेर यहाँका यात्रु लाने र यहाँ आउने यात्रुलाई झार्नेगरी त उडान गर्न सकिन्छ ।’
भारतको दिल्लीबाट सुदूरपश्चिम घुम्न सिधै धनगढी विमानस्थलमा आउन पाए पर्यटक बढ्ने उनको बुझाइ छ । ‘योजनाअनुसार काम गर्ने हो भने पक्कै सफल भइन्छ र यहाँको पर्यटन तथा आर्थिक विकासमा निकै फड्को मार्छ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये बाजुराको कोल्टी, कैलालीमा गेटा र टीकापुर, कञ्चनपुर, अछाममा साँफे र कमल बजार, दार्चुलाको गोकुलेश्वर, बझाङ र डोटीमा विमानस्थल रहेका छन् । हाल कैलालीको धनगढी विमानस्थलबाट मात्र नियमित उडान हुने गरेको छ ।
प्रकाशित समय १९:२१ बजे

















