गृहपृष्ठ जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अनिश्चितकालका लागि सेवा बन्द

जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अनिश्चितकालका लागि सेवा बन्द

नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित समुदाय स्तरमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुष्टि भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उनले बताए । बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । तीमध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ ।

नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा संक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । उनले बागलुङ बजारमा दशै तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरे ।

नगरपालिकाले नगरपालिकाको कार्यालयसहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरिएको हो । बागलुङमा हालसम्म ५२५ जनालाई संक्रमण भएको छ । तीमध्ये ३६७ जना कोरोनामुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको संख्या १५७ जना रहेको छ ।

राहत हस्तान्तरण

वलेवा सेवा समाज जापानले जैमिनीका पहिरो पीडित नगद राहत रकम हस्तान्तरण गरेको छ । सांसद डा. सूर्य पाठकले समाजको तर्फबाट सङ्कलन गरिएको तीन लाख ३७ हजार नगद राहत रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर आइतबार हस्तान्तरण गरेका हुन् ।

उक्त रकम जैमिनी नगरपालिका–१ टुनीबोट र सोही नगरपालिका–५ विनामारेका पहिरोमा परी मृतुभएका परिवार र पहिरोवाट घरमा क्षति भई विस्थापित भएको परिवारलाई नगद राहत हस्तान्तरण गरिइएको हो । गत भदौं २८ र २९ गते अविरल वर्षातका कारण गएको पहिरोले घर पुरिदा टुनिबोटमा दुई जनाको मृत्यु र ६ परिवार विस्थापित र विनामारेमा एक जनाको मृत्यु भएको थियो ।

पहिरोमा परी टुनीबोटमा मृत्यु भएका लक्ष्मीदेवि शर्मा र हरीकृष्ण शर्माको परिवार र विनामारेमा मृत्युभएको जालपादेवि शर्माको परिवार गरी जम्मा तीन जना पहिरो पीडितका परिवारलाई ३५ हजारका रूपैयाँका दरले, विस्थापित ६ परिवारलाई ३२ हजार रूपैयाँका दरले र पहिरोमा परी अभिभावक गुमाएका नावालक ५ जनाका दरले ८ हजार रूपैयाँका दरले गरी जम्मा तीन लाख ३७ हजार रूपैयाँ वितरण गरेको स्थानीय विद्यालय जैमिनी प्राथमिक विद्यालयका प्रधानध्यापक ऋषिराम पौडेलले जानकारी दिए । (रासस)

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु