गृहपृष्ठ खाद्य पदार्थको अनुगमनलाई तीव्र, २४ उद्योगविरुद्ध मुद्दा
खाद्य पदार्थको अनुगमनलाई तीव्र, २४ उद्योगविरुद्ध मुद्दा
फाइल तस्बिर ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्व नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा चलाइएको जानकारी दिए ।
तत्कालै गुनासो सुन्न तयार पारिएको समूह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकोमा एक पानी उद्योग अनुमतिविना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐनविपरित रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योगविरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए ।
उनका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो । त्यसमध्ये खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छतासम्बन्धी १५५ गरी ४३३ नमूना संकलन भएको थियो । परीक्षणका क्रममा १४ वटा नमूना प्रतिकुल देखिएकाले कारबाही गरिएको छ । अन्य अनुसन्धानकै क्रममा रहेका छन् ।
विभागअन्तर्गत मुलुकमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात/निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रहेको छ । यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको छ । कोभिड १९ का कारण पिउने पानी, दुध तथा दानाकोअनुगमन गरिएको थियो ।
अहिले भने चाडबाडकेन्द्रित अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले जनाएको छ । मातहतका कार्यालयलाई समेत अनुगमनलाई तीव्रता दिन निर्देशन दिइएको छ । यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ नमूना संकलन भएको थियो । दुई वटा नमूना प्रतिकुल देखिएकाले कारबाही प्रक्रिया अघि बढेको जनाइएको छ । अन्य नमूना विष्लेषणको क्रममा छ ।
सात दुग्ध उद्योगमा अनुगमन भएकोमा छ वटाको नमूना संकलन भएको छ । खाद्य व्यवसायको ३१ ठाउँमा अनुगमन भएकोमा ३४ नमूना संकलन गरिएको र एउटा प्रतिकुल देखिएकाले कारवाही प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ ।
चाडपर्वमा समेत गुनासो सम्बोधन गरिने
विभागले चाडपर्वको बिदाको समयमा पनि गुनासो सुन्ने भएको छ । यस्तै प्रयोगशाला परीक्षणसमेत सञ्चालन गरिने विभागले एक सूचनामार्फत जानकारी दिएको छ । त्यसका लागि सम्पर्क व्यक्तिसमेत तोकिएको छ । खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको विभिन्न नियम निर्देशिका कार्यान्वयनमा तीव्रता दिइएको सहप्रवक्ता दाहालले बताए । (रासस)
प्रकाशित समय ११:३८ बजे

















