गृहपृष्ठ कोरोनाका कारण घरमै थन्किए ओलाङचुङगोलाका गलैँचा
कोरोनाका कारण घरमै थन्किए ओलाङचुङगोलाका गलैँचा
कोरोना संक्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङचुङगोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा संक्रमण फैलिएदेखि नै ओलाङचुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् ।
सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङचुङगोलाका प्राय सबैले गलैँचा बुन्ने पेशालाई अगालेका छन् भने यसैमा उनीहरु निर्भर छन् । यो बस्तीमा ५४ घर परिवारको बसोबास छ । पशुपालन, जडिबुटी संकलनलगायत पेशालाई क्रमशः छाड्दै गएका यहाँका बासिन्दाले गलैँचा बुन्ने पेशालाई नै आफ्नो मुख्य आमदानीको स्रोत बनाएका छन् ।
तिब्बत तर्फ मात्रै निर्यात हुँदै आएको गलैँचा नाका बन्दका कारण घरैमा थन्किएपछि भने उनीहरु समस्यामा परेका छन् । केही वर्ष अघिसम्म यहाँका प्रायः युवा अन्यत्र नगई घरैमा बस्ने हुँदा पशुपालन र जडिबुटी संकलनमा सहज थियो । पछिल्लो पटक अध्ययन लगायतका कामले युवा सहर तिरै केन्द्रित हुँदा जनशक्तिको अभाव लगायतले पशुपालन र जडिबुटी संकलनको काम छाडेर घरमा रहनेले गलैँचा बुन्ने गरेका छन् ।
‘गत वर्षको कात्तिकयता बुनेका गलैँचाले घर भरिएको छ, नाका बन्दले गर्दा चीनतर्फ लैजान सकिएको छैन, यहाँ बुनिएका गलैँचाको मुख्य बजार भनेकै चीनको तिब्बत हो,’ गलैँचा व्यवसायी याङ्दी वालुङले भने । एकातिर नेपाली बजारमा ल्याउन टाढा भएको र अर्कातिर काठमाडौँ लगायतका ठाउँमा उत्पादित गलैँचा नै नेपाली बजारमा प्रशस्त पाइने भएकाले समस्या भएको वालुङको भनाइ छ । गलैँचा बेच्न नपाए पनि अहिलेसम्म आर्थिक रुपले समस्या नभएको तर अझै केहि महिना यस्तै अवस्था रहिरहे आफूहरु समस्यामा पर्ने स्थानीय वालुङले बताए ।
‘विगतका वर्षमा तिब्बतमा गलैँचा लगेर वर्षभर पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरिन्थ्यो, यो वर्ष न गलैँचा बेच्न पाइयो न त खाद्यान्न जोहो गर्न सकियो, यस्तै अवस्था रहिरहे हामी सर्वसाधरणलाई समस्या हुने भयो,’ वालुङ भन्छन् । वर्षेनी जेठदेखि साउन भदौसम्म याक, चौँरीलाई गलैँचा बोकाएर तिब्बत जाने र आउँदा खाद्यान्न लगायतका सामान लिएर फर्किने ओलाङचुंगोलाबासी चाँडै नाका खुल्ला भन्ने आसमा देखिन्छन् । तर दिनानुदिन संक्रमणले ठूलो रुप लिँदै गएकाले नाका खुल्ने सम्भावना छैन ।
हरेक घरमा गलैँचा थन्किएर समस्या आउने देखिएपछि बजारीकरणका लागि वडाले पहल गरिरहेको त्यहाँका वडा अध्यक्ष छेतेन शेर्पाको भनाइ छ । ‘सबैको घरमा गलैँचा थन्किएका छन्, बजारीकरण नहुँदा आर्थिक रुपले उनीहरु समस्यामा पर्ने देखिन्छ, अहिले वडाले बजारीकरणका लागि विभिन्न क्षेत्रमा समन्वय गर्ने काम गरिरहेको छ,’ अध्यक्ष शेर्पाले भने ।
ओलाङचुङगोलामा वार्षिक ५०० बढी गलैँचा उत्पादन हुने गरेको उनले बताए । एउटा गलैँचा बुन्नका लागि कम्तिमा १० दिनसम्म समय लाग्छ । यसका लागि चाहिने धागोलगायत कच्चा पदार्थसमेत चीनबाट नै ल्याउने गरिएको छ । गलैँचाको मूल्य सामान्यतया १० देखि २० हजार रुपैयाँसम्म पर्छ । यहाँ उत्पादित गलैँचाको मुख्य बजार नै चीनको तिब्बत हो । कहिलेकाही कोशेलीको रुपमा काठमाडौँलगायत ठाउँमा समेत लगिने गरेको छ । (रासस)
प्रकाशित समय ०८:२७ बजे

















