गृहपृष्ठ कर्णालीमा ७० प्रतिशत बालिकामाथि बलात्कार

कर्णालीमा ७० प्रतिशत बालिकामाथि बलात्कार

आर्थिक वर्ष २०७६/७७ मा दर्ता भएका १९४ घटनामध्ये ७७ बालिका र ११७ महिलामाथि करणी

सिम्ता गाउँपालिका सुर्खेतकी १३ वर्षीय बालिकालाई आफ्नै बुवाले करणी गरे । आफैंले जन्माएकी सानी छोरीलाई संरक्षण गर्नुको सट्टा उनका बुवाबाटै यस्तो जघन्य अपराध भयो । सोच्नै नसकेको घटना घटेपछि २०७४ सालमा बालिकाकी आमाले आफ्नै श्रीमानविरुद्ध करणीको मुद्दा हालिन् ।

घरमा बसेर मुद्दा लड्न समस्या भएपछि उनले बालिकालाई माइतीमा राखेर मुद्दा दिइन् । अहिले बालिकाका बुवा २० वर्षका लागि कारागार चलान भएका छन् । वीरेन्द्रनगर नगरपालिकामा भूतपूर्व सैनिकबाट अवकाश पाएका आफ्नै ससुराबाट २४ वर्षीय बुहारीमाथि करणीको प्रयास भयो । ससुराले जबरजस्ती करणीको प्रयास गरेपछि हारगुहार माग्दा छिमेकीले ती बुहारीको उद्धार ग¥यो । लामो समयसम्म सुसुरालगायत घरपरिवारबाटै मुद्दा दर्तामा दबाब आएपछि उनले केही समय मुद्दा दर्ता गर्न पाइनन् ।

जमिनको लोभ देखाएर मुद्दा दर्तामा हस्तक्षेप भए पनि न्यायका लागि उनले सुसुराविरुद्ध करणी उद्योग विरुद्धको मुद्दा दर्ता गरेपछि ससुराले कानुन बमोजिमको कारबाही भोगे । आफन्तबाटै महिलाहरु असुरक्षित छन् भन्ने यी केही उदाहरण हुन् । घरका बुवा, काका, ससुरालगायत घरभित्रैका आफन्त तथा छिमेकीबाटै अबोध बालिका/महिलाहरु असुरक्षित छन् । पछिल्लो समय जबरजस्ती करणीका घटनासमेत बढेको प्रहरीको तथ्यांक छ ।

प्रहरीको तथ्यांकअनुसार करिब ७० प्रतिशत बालिकामाथि बलात्कारका घटना तथा बलात्कारको प्रयास हुने गरेको छ । आर्थिक वर्ष २०७६/७७ कर्णाली प्रदेशका १० वटा जिल्लामा करणी र करणी उद्योगका गरी जम्मा १९४ घटना दर्ता भएका छन् । जसमध्ये ७७ जना बालिका र ११७ अठार वर्ष माथिका महिला रहेका छन् । उक्त तथ्यांकअनुसार जबरजस्ती करणीमा दर्ता भएका १४१ घटनामध्ये ५९ वटा घटना १८ वर्ष मूनिका बालिकामाथि भएका छन् भने ८२ वटा घटना महिलामाथि घटेका हुन् ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को असोज २३ गतेसम्म प्रदेशभर जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग तथा जबरजस्ती करणी कर्तव्य ज्यान गरी जम्मा ५२ वटा घटना दर्ता भएकोमा २४ वटा बालिकामाथि र २८ वटा महिलामाथि घटेका घटना हुन् । दुई आर्थिक वर्षको तथ्यांक हेर्दा जम्मा तीनवटै शीर्षकमा दर्ता भएका २४६ घटनामध्ये १०१ घटना बालिकामाथि घटेका र १४५ घटना २० वर्षमाथिका महिलामाथि घटेका हुन् । बालिकामाथि भएका घटनालाई मात्रै प्रतिशतमा निकाल्दा ७० प्रतिशत हुन आउँछ ।

आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशका १० वटा जिल्लामा १४१ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी उद्योगका घटना भने ५३ वटा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका अनुसार जबरजस्ती करणीका मुद्दा सुर्खेत जिल्लामा ६१, दैलेखमा १७, जाजरकोटमा ९, रुकुम पश्चिममा १५, सल्यानमा १६, जुम्लामा ७, हुम्लामा २, डोल्पामा १, मुगुमा ४ र कालिकोटमा ९ गरी १४१ वटा घटना दर्ता भएका हुन् ।

त्यस्तै जबरजस्ती करणी उद्योगका घटना सुर्खेत जिल्लामा २२, दैलेखमा ४, जाजरकोटमा ७, रुकुम पश्चिमा ७, सल्यानमा १०, जुम्लामा १ र डोल्पामा २ गरी प्रदेशभर ५३ वटा घटना दर्ता भएको प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष २०७७/७८ को असोज २३ गतेसम्म प्रदेशभरका १० वटा जिल्लामा जबरजस्ती करणीका ३८, जबरजस्ती करणी उद्योगका १३ र जबरजस्ती करणी गरी कर्तव्य ज्यानको १ वटा मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जबरजस्ती करणीमा सुर्खेत जिल्लामा १३, दैलेखमा २, जाजरकोटमा २, रुकुम पश्चिमा ५, सल्यानमा ९, जुम्लामा २, डोल्पामा १, मुगुमा २ र कालिकोटमा २ गरी प्रदेशभर ३८ वटा घटना चालू आर्थिक वर्षको असोज २३ सम्म दर्ता भएका हुन् । जबरजस्ती करणी उद्योगमा भने सुर्खेतमा ६, दैलेखमा २, सल्यानमा ३, जुम्लामा १ र मुगु जिल्लामा १ वटा मुद्दा दर्ता भएका हुन् ।

प्रदेशभरको तथ्यांक हेर्दा सबैभन्दा बढी घटना कर्णाली प्रदेशको राजधानी सुर्खेतमा घटेका छन् । सुर्खेत जिल्लामा १४ महिनाको तथ्यांक हेर्दा प्रदेशभदर २४६ घटना घट्दा सुर्खेतमा मात्रै १०३ वटा घटना घटेका छन् । जसमा जबरजस्ती करणीका ७४, जबरजस्ती करणी उद्योगका २८ र जबरजस्ती करणीपछि ज्यान मारेको १ वटा घटना दर्ता भएका हुन् । जबरजस्ती करणीका अधिकांश घटना आफन्तबाटै घट्ने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार घटना घटेपछि ढिलो गरी प्रहरीसम्म आउने गरेकोसमेत सुनाए ।

‘यस्ता घटनामा आर्थिक चलखेलसमेत हुन्छ,’ उनले भने, ‘घटना घटेको धेरै दिनपछि मात्रै प्रहरीमा आउनुले आर्थिक चलखेललाई जनाउँछ ।’ बलात्कारका घटनामा परिवारकै सदस्य, आफन्त छिमेकी वा विश्वासिलो व्यक्तिनै संलग्न रहने गरेको उनले बताए । प्रायः बालिकामाथि नै करणी तथा करणीको प्रयास हुने गरेको उनले बताए ।

अधिवक्ता गीता कोइरालाले अदालतसम्म आउने जबरजस्ती करणीका घटनाहरु आफन्तबाटै भएको आउने उनले बताइन् । ‘बुवा, सुसुरा, काकालगायत घरभित्रकै व्यक्तिबाट करणी भएको थुप्रै घटना छन्,’ उनले भनिन्, ‘घटनालाई प्रहरी तथा अदालतसम्म नल्याउनको लागि पीडकबाट ठूलो दबाबसमेत हुने गरेको छ ।’

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु