गृहपृष्ठ पहिले यात्रुले बस पाउँदैनथे, अहिले बसले यात्रु पाएनन्
पहिले यात्रुले बस पाउँदैनथे, अहिले बसले यात्रु पाएनन्
नेपालीको महान् पर्व दसैं सुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड- १९ को महामारीका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् ।
विगतका वर्षमा दसैंको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड- १९ को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन् ।
ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कोरोना संक्रमण फैलन नदिन सामाजिक दूरी कायम गरेर प्रविधिको प्रयोगमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरेको थियो । प्रालिका मानव संशाधन प्रमुख पंकज मल्ल कोभिड- १९ को संक्रमणका कारण यस वर्ष घर जाने यात्रुमा उत्साह नभएको बताउँछन् । ‘विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक एक हजार हाराहारीमा सार्वजनिक यातायात नयाँ बसपार्कबाट बाहिरिने गरे पनि अहिले भने दैनिक २०० सवारी साधन बाहिरिँदै आएका छन्,’ उनी भन्छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल अधिकांश यात्रु बन्दाबन्दी सुरु हुनुभन्दा पहिले नै घर गएका कारण दसैंको समयमा बसपार्क क्षेत्रमा यात्रुको चहलपहमा कमी आएको बताउँछन् । ‘विगत एक हप्तादेखि उपत्यका बाहिरिने यात्रुको संख्यामा क्रमशः वृद्धि हुँदै गएको छ,’ उनले भने । विगतका वर्षहरुमा घटस्थापनादेखि फूलपातीको दिनसम्म दैनिक सरदर ८० हजारदेखि एक लाख यात्रु उपत्यका बाहिरिने गरे पनि यस वर्ष भने दैनिक १० देखि २० हजार यात्रु बाहिरिएको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले चाडवाडको समयमा बढी भाडा लिने तथा यात्रुलाई अनावश्यक रूपमा दुःख दिने बस चालकको कारवाहीका लागि सादा पोशाकमा आठवटा टोली प्रहरी खटाएको छ । यस्तै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवसायीहरु बन्दाबन्दीका कारण छ महिना थन्किएका सार्वजनिक सवारी साधन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याए पनि यात्रु नहुँदा समस्यामा परेको बताउँछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला अधिकांश यात्रुहरु साना सवारी साधन रिजर्भ गरेर गन्तव्यस्थलसम्म गएका कारण पनि बसपार्कमा यात्रुको चहलपहल नभएको बताउँछन् । ‘अधिकांश यात्रु बन्दाबन्दी हुनुभन्दा अगाडि नै घर गएका छन्, बाँकी रहेका यात्रुलाई सरकारले जहाँ हुनुहुन्छ त्यहीँ दसैं मनाउनुहोस् भनेका कारण पनि बसपार्क क्षेत्र सुनसान छ,’ उनी भन्छन् । सरकारी तथ्यांकअनुसार बन्दाबन्दी पहिले नै झण्डै सात लाख यात्रुले उपत्यका छोडिसकेका छन् ।
यस्तै पर्यटक बसमा पनि कोभिड- १९ र बन्दाबन्दीको असर परेको छ । दसैंको समयमा दैनिक दुईदेखि तीन हजार यात्रु बोकेर पोखरा, चितवन, लुम्बिनी र जनकपुर जाने गरेको पर्यटक बसमा यतिबेला यात्रु छैनन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का महासचिव दीपेन्द्र अधिकारी दसैंको समयमा समेत यात्रु नभएको गुनासो गर्छन् । ‘विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म दैनिक दुई/तीन हजार पर्यटक बसमा उपत्यका बाहिरिने गरे पनि यो वर्ष दैनिक २० देखि ५० यात्रुमात्र बाहिरिएका छन्,’ उनले भने । (रासस)
प्रकाशित समय ११:३३ बजे

















