गृहपृष्ठ खाँदबारीका कृषकलाई आधुनिक हलो वितरण
खाँदबारीका कृषकलाई आधुनिक हलो वितरण
फाइल तस्बिर
संखुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ आधुनिक हलो वितरण गरेको छ ।
श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक हलो मिनीटिलर वितरण गरेको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।
आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरिएको हो । नगरपालिकाले नगरभित्रका किसानलाई व्यावसायिक कृषि प्रणालीको सुरूवात गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको खाँदबारी नगर प्रमुख खतिवडाले बताए । किसानलाई राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्ने नगर प्रमुखले खतिवडाले आग्रह गरे ।
प्रतिहलो ६३ हजार २५० रूपैयाँ मूल्य पर्ने मिनीटिलर नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिका कृषि शाखाका प्रमुख मेगराज पोख्रेलले जानकारी दिए । नगरले किसानको ५० प्रतिशत लगानीमा नगरभित्रका २८ मिनीटिलर एक करोड ७७ लाख एक हजार
रूपैयाँ मूल्य बराबरको वितरण गरेको जनाएको छ ।
नगरका ११ वडाका कृषक तथा कृषि समूहलाई एकएक वटाका दरले टिलर उपलब्ध गराइएको उनको भनाइ छ । वडामा दुई–दुई वटाका दरले र कृषि क्षेत्रमा लगाव धेरै भएका ६ वटा वडामा एकएक थप गरेर टिलर वितरण गरेको उनको भनाइ छ । नगरले हरेक वर्ष किसानलाई मिनिटिलर वितरण गर्दै आएको छ । (रासस)
प्रकाशित समय ०७:५६ बजे

















