गृहपृष्ठ मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा भौतिक प्रगति न्यून

मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा भौतिक प्रगति न्यून

फाइल तस्बिर ।

राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको कम हुन सकेको छैन । कोभिड- १९ संक्रमण फैलिरहँदा पालिकाले आफ्नो क्षेत्र बाहिरका व्यक्तिलाई प्रवेशमा गरेको कडाइका कारण अपेक्षाकृत रुपमा काम हुन नसकेको हो ।

यो आर्थिक वर्षको पहिलो तीन महिनामा भौतिक प्रगति न्यून मात्रै रहेको मध्यपहाडी सडक आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए । उनका अनुसार पहिलो चौमासिकमा ५० किमी कालोपत्र गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म झण्डै दुई किमी मात्रै सडक कालोपत्र भएको छ । अबको एक महिना दसैं, तिहार, छठलगायत चाडपर्व भएकाले निर्माण गर्न अझै कठिन हुने उनले बताए ।

उनले भने, ‘पहिलो चौमासिकमा अपेक्षा गरेभन्दा धेरै कम मात्रै काम भएको छ ।’ एकातिर कामदार आफैँ पनि घर बाहिर जान त्रसित भएको र अर्कातिर सम्बन्धित पालिकाले आवतजावतमा कडाइ गरेकाले अधिकांश स्थानमा निर्माण अघि बढाउन नसकिएको प्रमुख केसीले बताए । अहिले पनि धेरै पालिकाले नयाँ मान्छे आउनै नदिने वा आइहालेमा दुई साता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ । ‘मजदूर आफैँ पनि सकेसम्म घरपरिवार छाडेर काम गर्न चाहेका छैनन्,’ उनले भने ।

आयोजनामा गत वर्ष कोभिड- १९ का कारण लक्ष्यभन्दा एकतिहाइ मात्रै कालोपत्र भएको थियो । तीन सय किमी कालोपत्रको लक्ष्य लिइएकामा ११३ किमी सडकमा कालोपत्र भएको थियो । गत वर्ष कालोपत्र गर्ने लक्ष्य लिएकोमा सडकमा आवश्यक सबै तयारी भइसकेकाले अहिले सहज अवस्था हुनासाथ कामले गति लिने पनि प्रमुख केसीले बताए । पहाडी क्षेत्रलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने सो आयोजना आगामी आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ । (रासस)

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु