गृहपृष्ठ चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना

चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना

कर्णाली प्रदेशमा नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना निर्माण गरेको छ । चाडपर्वमा हुन सक्ने सम्भावित घटना हुन नदिनको लागि प्रहरीले सुरक्षा योजना निर्माण गरी मातहतका सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

कर्णाली प्रदेशका १० वटा जिल्ला प्रहरी कार्यालयहरुबाट कार्यान्वयन हुने गरी प्रदेश प्रहरी कार्यालयले उक्त योजना निर्माण गरेको हो । सडक सुशासन तथा सार्वजनिक यातायात साधानहरुको सहज आवागमन र दुर्घटना न्युनीकरण, सीसीटीभी तथा राडर गर्नेलगायतका प्रविधिहरुको प्रयोग, खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुमा मिसावट, कालोबजारी रोकथाम तथा सहज आपुर्ति व्यवस्था, सार्वजनिक यातायातमा यात्रुहरुका झोलालगायत सामान हराए खोजतलास गर्ने, चाडपर्वमा हुन सक्ने चोरी तथा लागूऔषध ओसारपसारलाई रोकथाम गर्ने, जुवातास, गुर्जा तथा कौडा खेल्ने कार्यलाई पूर्ण रुपमा नियन्त्रण, पटका तथा अन्य विष्फोटक पदार्थको आयात र प्रयोगलाई पूर्णतया नियन्त्रण गर्ने कार्ययोजना निर्माण गरेको हो ।

त्यस्तै सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानहरुको सुरक्षा, मठमन्दिर तथा धार्मिक स्थलहरुको सुरक्षा, क्वारेन्टिन तथा आइसोलेसन स्थलको सुरक्षा, नागरिक सहायता कक्षको व्यवस्था, आकस्मिक चेक पोइन्ट, भीआइपी तथा खाली घरहरुको सुरक्षा र प्रदेश प्रहरीलगायत मातहतका प्रहरी कार्यालयहरुमा एक–एकवटा कमाण्ड सेन्टरको व्यवस्था प्रदेश प्रहरीले गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक बसन्त पन्तले अन्य समयमा भन्दा चाडपर्वमा अझै धेरै घटनाहरु घट्ने भएकोले सु्रक्षा योजना निर्माण गरी मातहतका प्रहरी कार्यालयहरुलाई कार्यान्वयनका लागि पठाएको जानकारी दिए । ‘चार्डपर्वमा हामीहरु कुनै पनि घटना हुन दिने छैनौ,’ पन्तले भने, ‘नागरिकको सुरक्षाका लागि चाडपर्वमा साढे तीन हजार प्रहरी परिचालन हुँदैछन् ।’ पन्तले सहरमा मात्रै नभई ग्रामीण क्षेत्रमा समेत प्रहरी परिचालन गर्ने गरी योजना निर्माण भएको बताए ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु