गृहपृष्ठ स्पाइनल इन्जरी भएकाहरू संगठित हुँदै, महासंघ बनाउने तयारी
स्पाइनल इन्जरी भएकाहरू संगठित हुँदै, महासंघ बनाउने तयारी
फायल तस्बिर
मेरुदण्डको पक्षघात (स्पाइनल इन्जरी) भइ जटिल किसिमको अपांगता झेल्दै आएका व्यक्तिहरू संगठित हुन थालेका छन् । राष्ट्रिय अपांग महासंघलगायत अपांगतासम्बन्धि अन्य संस्थाले स्पाइनल इन्जरीका समस्यालाई सही ढंगले उठान नगरेपछि स्पाइनल इन्जरी महासंघ गठनको अवधारणासहित उनीहरू संगठित हुन थालेका हुन् ।
मेरूदण्डीय पक्षघात समूह नेपाल ( स्पाइनल इन्जरी नेटवर्क नेपाल) को सहजीकरणमा नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा अपांगता अभियान्ता दीर्घकुमार स्वार र अपाङ्गता अधिकारकर्मी एवं सञ्चारकर्मी भवानी ऐरको पहलमा नेपाल स्पाइनल इन्जुरी संघ, सुदूरपश्चिम प्रदेश कमिटी गठन गरिएको छ ।
रामप्रसाद जाेशीकाे अध्यक्षतामामा गठित १५ सदस्यीय सुदूरपश्चिम प्रदेश कमिटीको उपाध्यक्ष शैलेजा विक, सचिवमा गणेशप्रसाद अवस्थी , कोषाध्यक्ष टीकाकुमारी पुरी र सहसचिवमा योगेन्द्र बहादुरखड्का रहेका छन् ।
यस्तै, सदस्यहरूमा ताराप्रसाद पाण्डेय, कृष्णबहादुर सिंह, बिन्दु साउद, बमबहादुर थापा, कल्पना बिष्ट, वीरबहादुर भाट, दिनेश ठगुन्ना, लखन चौधरी रहेका छन् भने सल्लाहकारहरूमा अपांगता अभियान्ता दीर्घकुमार स्वार र अपाङ्गता अधिकारकर्मी एवं सञ्चारकर्मी भवानी ऐर रहेका छन् ।
‘अपांगता अधिकारका लागि स्थापना भएका विभिन्न संघ-संगठन, राष्ट्रिय अपांग महासंघलगायतका संस्थाले हामी स्पाइनल इन्जरी भएका व्यक्तिहरूको समस्या सही ढंगले कहिल्यै उठान गरिदिएनन,’ अपांगता अभियन्ता दीर्घकुमार स्वारले भने, ‘ स्पाइनल इन्जरी विशेष प्रकृतिको अपांगता हो, यसलाई छुट्टै ढंगले सम्बोधन गरिनु पर्छ भनेर हामी संगठित भएका हाैं ।’
स्पाइनल ईन्जरी नेटवर्क नेपालले देशभरिका स्पाइनल इन्जरी भएका व्यक्तिहरूलाई संगठित गर्नका लागि विगत केही महिनादेखि लगातार आयोजना गरिरहेको भर्चुअल संवादपछि महासंघको अवधारणा जन्मिएको नेटवर्कका अध्यक्ष अध्यक्ष ऋषिराम ढकाल बताउँछन् ।
स्पाइनल इन्जुरी भई अपांगता भएका व्यक्तिलाई समावेशी तथा पहुँचयुक्त वातावरणमा आत्मसम्मानका स्वाबलम्बी भइ बाँच्न, पुनर्स्थापित गराउन तथा अधिकार स्थापनाका लागि संगठित हुनु परेको स्वार बताउँछन ।
‘अपाङ्गताकाे नाममा एक आँखा नाक कानमा समस्या भएका वा हातखुट्टमा चाेटपटक लागेर रड सर्जरी गरेका टाठावाठाले नेतृत्व गर्ने र हामी जस्ता शरीरमै दिसापिसाब भएकाे थाह नपाउने ह्वीलचेयरबिना विन काेठाबाहिरकाे संसार देख्न नसक्नेलाई बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध लड्न यो संस्था गठन गरिएको हो,’ स्वारले भने ।
स्मरणीय छ, लकडाउनपछि संकटमा परेका स्पाइनल इन्जुरी अपांगता भएका व्यक्तिहरूलाइ सुदूरपश्चिममा स्वारकै व्यक्तिगत खर्च तथा पहलमा र काठमाडौंमा स्पाइनल ईन्जरी नेटवर्क नेपालको पहलमा क्याथेटर, जाइलोकन जेली, डाइपर, अत्यावश्यक औषधिदेखि खाद्यान्नसम्म गरी १५ लाख रूपैयाँभन्दा बढीको राहत वितरण गरिएको थियो ।
प्रकाशित समय ११:०५ बजे

















