गृहपृष्ठ यस वर्ष पशुबली होइन, कुभिण्डो र नरिवल
यस वर्ष पशुबली होइन, कुभिण्डो र नरिवल
मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबली निकै कम हुने भएको छ । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबली नहुने भएको हो ।
कोभिड–१९ महामारीका कारण मुलुकका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ । दसैँ तथा अन्य चाडबाडमा शक्तिपीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको बली चढाउने विभिन्न समुदायमा प्रचलन रहिआएको छ ।
कोभिड–१९ का कारण शक्तिपीठमा भीडभाड कम गर्ने हेतूले शक्तिपीठमा पशुबली घटाइएको हो । पशुबली घटाइएपछि शक्तिपीठमा विकल्पमा कुभिण्डो र नरिवल चढाइने छ । काठमाडौँको हनुमान ढोका र भक्तपुरपुरमा अष्टमी र नवमीका दिन ठूलो संख्यामा हुँदै आएको पशुबली यस वर्ष परम्परा धान्नमा मात्र सीमित गरिदैँछ ।
हनुमान ढोकाभित्रको मूलचोकमा महाअष्टमी र नवमीका दिन ५४ बोका र ५४ राँगाको बली दिने गरिन्थ्यो । दसैँमा पशुबलीको साटो कतिपय स्थानमा कुभिण्डो र घिरौँला चढाउने चलन छ । धर्म र संस्कृतिका नाममा महामारी फैलिन गई जनताले दुःख कष्ट भोग्न नपरोस् भन्नका लागि विकल्पमा कुभिण्डो र नरिवल चढाइने हनुमान ढोका हेरचाह अड्डाका पुरोहित देवराज अर्यालले जानकारी दिए । परम्परा र संस्कृतिका रुपमा चलिआएको तलेजुलगायत शक्तिपीठमा पशुबलीकै लागि पनि सरकारले बजेट विनियोजन गर्दै आएको छ ।
यसैबीच, नेपाली सेनाले निशान भगवतीलाई शक्तिस्वरुपाका रुपमा मान्ने हुँदा भगवती र कोतमा बाहेक यस पटक अन्यत्र पशुबली नदिइने जनाएको छ । त्यस्ता शक्तिपीठ र अन्यस्थानमा पशुबलीको सट्टा नरिवल र कुभिण्डो चढाउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।
बडादसैँका अवसरमा आ–आफ्ना घरमा स्थापना गरिएका नवदुर्गा स्थलका अतिरिक्त मुलुकका ठूला शक्तिपीठ भद्रकाली, रक्तकाली, दक्षिणकाली, मनकामना, बाग्लुङ कालिकालगायत मन्दिर परिसरमा ठूलो सङ्ख्यामा खसी, बोका, राँगा, हाँस, परेवा तथा कुखुराको बलि दिने परम्परा छ । (रासस)
प्रकाशित समय १३:३४ बजे

















