गृहपृष्ठ बालविवाह न्यूनीकरण गर्ने अभियानमा प्रदेश प्रहरी

बालविवाह न्यूनीकरण गर्ने अभियानमा प्रदेश प्रहरी

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान सुरु गरेको छ । पछिल्लो समय प्रदेशभर बालविवाह भइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न आजदेखि १५ दिने बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

‘उमेर नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन तर विभिन्न कारणबाट उमेर नपुग्दै विवाह गर्ने गरेको पाइन्छ,’ उनले भने, ‘यसबाट शारीरिक र मानसिक रोगको सिकार हुने, घरेलु हिंसामा वृद्धि हुने, विवाहपछि पढाइ बिग्रने, विभिन्न पारिवारिक, सामाजिक, आर्थिक असर परी कानुनको उल्लंघन हुनुका साथै विभिन्न अपराधसमेत सिर्जना हुनसक्ने जोखिम बढेको छ ।’

प्रदेशका १२ जिल्लाका सबै प्रहरी कार्यालयले लक्षित वर्गसम्म पुगी बालविवाह निरुत्साहन तथा नियन्त्रण गर्न, कानून कार्यान्वयन प्रभावकारी बनाउन, आम जनता, स्थानीय तहहरु, सञ्चारमाध्यम, नागरिक समाजलगायत सरोकारवाला निकायहरुसँग सहकार्य गरी कार्यक्रम चलाउने उनले जानकारी दिए ।

उनका अनुसार अभियानले बालविवाह गैरकानूनी कार्य हो भनी जनचेतना अभिवृद्धि गर्ने, बालविवाह गराउनेलाई कानूनी कारवाही गर्ने, बालविवाह विरुद्ध प्रहरी अभियानको सहकार्यमा अभिवृद्धि गर्नेलगायतका उद्देश्य लिएर कार्यक्रम सुरु गरिएको हो । अभियान कात्तिक १४ गतेदेखि कात्तिक २८ गतेसम्म चल्ने छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–११ मा विवाहसम्बन्धी कसुरमा बालविवाह भएमा विवाह स्वतः बदर हुने तथा कसुर गर्नेलाई तीन वर्ष कैद र ३० हजार रूपैयाँ जरिवानासमेत तोकिएको छ ।

लुम्बिनी प्रदेशमा पछिल्लो तीन आर्थिक वर्षमा ४९ बालविवाहका घटना प्रहरीसमक्ष पुगेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नौ, ०७५/७६ मा २२ र ०७४/७५ मा १८ बालविवाह भएका मुद्दा प्रहरीसमक्ष आएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार प्रदेशभर सबैभन्दा धेरै वालविवाह गर्नेमा १६ वर्षमुनिका रहेका छन् । (रासस)

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु