गृहपृष्ठ कञ्चनपुरमा पटका रोक्न सीमामा प्रहरी परिचालन

कञ्चनपुरमा पटका रोक्न सीमामा प्रहरी परिचालन

फाइल तस्बिर

तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारहरुबाट पटाकाहरु ल्याउन नदिन र सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर कुकुर सहित प्रहरी परिचालन गरेको बताए ।

उनले धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिए । ‘सीमाबाट पटाकाहरु भित्रिने सम्भावना रहने हुँदा हामीले हरेक दिन बिहान, दिउँसो र साझँ गरेर विभिन्न समयमा कुकुर परिचालन गरी जाँच गर्छौ’, प्रवक्ता थापाले भने, ‘गड्डाचौकीनाकादेखि पूर्वी डोकेबजार सीमानाकासम्म परिचालन गरी कडाइ गर्छौ ।’

भारतसित सीमाना जोडिएको कञ्चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलो पटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो । ‘यात्रुहरुलाई मात्रै नभई सवारीसाधनहरुमा पनि कुकुरको सहायताले प्रहरीले जाँच गर्नेछ,’ उनले थपे, ‘चाडपर्व लक्षित सुरक्षा योजना समेत बनाएर ग्रामीण र सीमानाकासम्म प्रहरी खटिएको छ ।’ जिल्ला प्रहरी कार्यालयको टोलीले एक साताअघि महेन्द्रनगर बजार क्षेत्रबाट डेढ लाख बराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु