गृहपृष्ठ ट्राफिक प्रहरी महाशाखाको सांगीतिक डमी अभियान

ट्राफिक प्रहरी महाशाखाको सांगीतिक डमी अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबारदेखि सांगीतिक डमी अभियान सुरू गरेको छ । ट्राफिक सचेतना अभिवृद्धिको लागि सञ्चालित अभियानको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले उद्घाटन गरे ।

सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि गत भदाै १६ गतेदेखि महाशाखाले काठमाण्डौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ । सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले सुरूवात गरेको हो ।

गीत संगीत भनेको हर जनको हर परिस्थितिको सहारा, अत्यन्तै प्रिय साथी भएकाले गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकाले यो अभियान सुरू गरिएको महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए । उनका अनुसार सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक-चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति राखेका थिए भने महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापा, कामनपाका सहरी सुशासन विभाग प्रमुख हरि कुँवर, सामाजिक अभियन्ता योङजोम शेर्पा, राधा पोख्रेल तथा महाशाखाका प्रहरी अधिकृत, जवानहरूको उपस्थिति रहेको थियो ।

 महाशाखाले गीत संगीतको माध्यमबाट आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाउनका लागि ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवं ट्राफिक गीतहरु समावेश गरी अडियो क्लिप तयार गरेको छ । सो ट्राफिक सन्देश र गीत भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य ५ वटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोंगबु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइनेछ । दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रत्येक आधा घण्टामा कम्तिमा ५० जना सडक प्रयोगकर्ताहरू लाभान्वित हुने र दैनिक ३ हजारभन्दा बढीले ट्राफिक शिक्षा प्राप्त गर्ने अपेक्षा महाशाखाले लिएको छ । यसरी १ महिनामा १ लाख सडक प्रयोगकर्तालाई सचेतना दिने यस कार्यक्रमको लक्ष्य रहेको छ । जनचेतनाबाट लाभान्वित हुने आम सडक प्रयोगकर्ताहरुले आ-आफ्नो घर परिवार, साथीसंगी साथै समुदायमा उक्त ट्राफिक नियमको सन्देश प्रवाह गर्न महाशाखाले विशेष अनुरोध गरेको छ । यस अभियानलाई अझ प्रभावकारी बनाउदै भिडभाड हुने अन्य स्थानहरुमा समेत सांगीतिक डमी राख्दै लैजाने महाशाखाको योजना रहेको छ ।

महाशाखाले महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रविधियुक्त बनाउन विभिन्न नागरिकमैत्री अभियान तथा काम कारवाहीहरू निरन्तर सञ्चालन गरिरहेको छ । महाशाखाले सडक सचेतना  (Education)सँगसँगै सडकको वैज्ञानिक विकास (Engineering)र कानुनको कार्यान्वयन (Enforcement)लाई एकैसाथ अगाडि बढाईराखेको छ भने सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक उज्यालो कार्यक्रम, पैदलयात्री प्रशिक्षण, सारंगी टोली, प्लेकार्ड/फ्लेक्स बोर्ड प्रदर्शन, मापसे, लेन तथा सवारी दुर्घटना गर्ने चालकउपर दैनिक कक्षा, स्कुल/कलेजमा ट्राफिक कक्षा आदिमार्फत ट्राफिक सचेतना पनि प्रदान गरिरहेको छ ।

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु