गृहपृष्ठ आज कुकुर तिहार, धनधान्यकी देवी लक्ष्मीमाताको पूजा पनि आजै

आज कुकुर तिहार, धनधान्यकी देवी लक्ष्मीमाताको पूजा पनि आजै

laxmi-puja-newskarobar (3)

आज कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन मनाइँदै छ । कात्तिक कृष्ण चतुर्दशी तिथि रहने भएकाले त्यसबेलासम्म कुकुर पूजा तथा त्यसपश्चात आजै लक्ष्मी पूजा गरिने पञ्चांग निर्णायक समितिले जनाएको छ । आज साँझ घरघरमा दिपावली गरी धनधान्यकी देवी लक्ष्मीमाताको धूमधामका साथ पूजा आराधना गर्ने गरिन्छ ।

कुकुर तिहार

कुकुर तिहारका दिन विभिन्न मिठा परिकार खान दिएर कुकुरको पूजा गरिने चलन छ । आज कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ । कुकुरलाई धनरक्षक पनि मानिने भएकाले पूजा गर्ने गरिएको हो ।

कुकुर यमराजको प्रियभक्त भएकाले यमदूतका रूपमा पनि पुज्ने गरिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।

लक्ष्मी पूजा

गाई तिहारको दिन पर्ने लक्ष्मी पूजा यो वर्ष आज अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन परेको छ । आज बेलुकी लक्ष्मी पूजा गरिन्छ ।

आजका दिन घर वरिपरि सरसफाइ गरी सिंगारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ । यसै विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।

लक्ष्मीलाई प्रसन्न पार्ने केही उपाय

लक्ष्मी प्राप्त गर्ने अभिलाषा राख्नेहरू लक्ष्मीपूजाका अनेक उपायबारे जान्न चाहन्छन् । यस दिन कसैले साधारण, कसैले ज्योतिषीय र कतिपयले तान्त्रिक उपक्रम गर्छन् ।

यस दिन लक्ष्मीपूजामा पहेंलो कौडा समावेश गरिन्छ । यस्तो कौडाको पूजा गर्नाले लक्ष्मीमाता प्रसन्न भएर निरन्तर आशीर्वाद दिनेछिन् । पूजा समाप्त भएपछि यो कौडा मुख्य भण्डार (धन कुटुरी) मा राख्नुपर्छ ।

धनतेरसका दिन कुचो किनेर यही कुचाले घरको बढारकुडार गर्नुपर्छ । यो कुचो कुनै अतिथिले नदेख्ने गरी राख्नुपर्छ । पूजापछि उक्त कुचो कुनै मन्दिरमा चढाएर नयाँ कुचो किनेर ल्याउनुपर्छ ।

लक्ष्मीपूजाका राति पीपलको रूखमुनि घिउको दियो बालेर घर फर्कंदा पछि फर्कने र कसैसँग कुराकानी नगरी सिधै घरमा आउनुपर्छ ।

यस रात महालक्ष्मी मन्दिरमा जाकर पाँच वटा कमलका फूल अर्पण गरेर दियो बाल्नाले प्रसन्न भएकी माता लक्ष्‍मीबाट घर समृद्धिले भरिपूर्ण हुन्छ ।

साना दुई नरिवल रातो कपडामा बेरेर धन भण्डारगृहमा राखेर भोलिपल्ट एउटा नरिवल कुनै नदी या तलाउमा विसर्जन गर्नेका घरमा लक्ष्मी माताको दीर्घकालसम्म बास रहन्छ । एउटा नरिवल चाहिँ यथास्थानमै राख्न सकिन्छ । एकाक्षी (एकआँखे) नरिवल घरमा राख्नाले धन लाभ हुनुका साथै कयौं समस्या स्वत: समाधान हुन्छन् ।

प्रकाशित समय ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु