गृहपृष्ठ दयालु स्वभावका महाकवि देवकोटा युवाअवस्था पुगेपछि भावनामा बहकिन थाले

दयालु स्वभावका महाकवि देवकोटा युवाअवस्था पुगेपछि भावनामा बहकिन थाले

महाकवि लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीपूजाका दिन जन्मिएका थिए । त्यसैले उनको नाम लक्ष्मीप्रसाद राखिएको थियो । खासमा उनको न्वारनको नाम भने तीर्थमाधव देवकोटा हो । नामले लक्ष्मीप्रसाद भए पनि उनको जीवनमा ‘लक्ष्मी’ले भने साथ कहिल्यै दिएन । जीवनभर भोक र शोकमा डुबेका महाकवि देवकोटा नेपाली साहित्यमा बिर्सन नसकिने अमर नाम हो । साहित्यमा उनी जति धनी धर्तीमा अरु कोही जन्मेको छैनन् भने पनि हुन्छ । उनका सिर्जनाहरु आज पनि उत्तिकै प्रख्यात छन् ।

देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाको दिन काठमाडौंको डिल्लीबजारमा भएको हो । उनका पिता तिलमाधव र आमा अमर राज्यलक्ष्मी हुन् । सानै उमेरदेखि नै लेखनमा रुचि राख्ने देवकोटाले १० वर्षको कलिलो उमेरमा नै साहित्यमा हात हालिसकेका थिए । आफ्नी भाउजुको प्रेरणामा उनले ‘म त अभागी पो भएँ’ कविता लेखेर आफ्नो कलाको थालनी गरेका थिए । सानैदेखि दयालु स्वभावका उनी युवाअवस्था पुगेपछि झन् भावनामा बहकिँदै जान थाले । उनले आफ्नो लेखनलाई अझ परिष्कृत गर्दै अघि बढे । पहिलोपटक ‘घडी’ शीर्षकमा कविता लेखेर साथीहरुमाझ ‘कोपिलाउँदो कविताको दर्जा’समेत पाएका थिए ।

देवकोटा डाक्टर पढ्न चाहान्थे तर आर्थिक अवस्था कमजोर भएका कारण विज्ञान पढ्दै ट्युसन पढाउन थाले । उनले १९८५ सालमा आइएस्सी, १९८६ सालमा बीए र १९९० मा बीएल उत्तीर्ण गरे । उनले नेपाली र संस्कृत भाषामा कविता लेख्न थाले । पहिलोपटक गीताको आधारमा संस्कृतमा कविता लेखेर देखाउँदा अशुद्ध, बेकम्मा भनेर उनले बुवाको गाली खाएका थिए । त्यसै कारणले उनले नेपाली भाषामा मात्र कविता लेख्न थाले ।

देवकोटाले संस्कृत, नेपाली, नेवारी, अग्रेजी, बंगाली, उर्दू, फ्रेन्च, जर्मनी, रसियन लगायतका १४ भाषा बुझ्थे र ९ भाषामा कविता लेख्थे । देवकोटा लेखेपछि लेखेको लेख्यै गर्थे । उनलाई बिहान भएको र रात परेको केही थाहा हुँदैनथ्यो । एकदमै छिटो कविता लेख्न सक्ने क्षमता उनमा थियो । कविता मात्रै हैन निबन्ध, गीत, काव्य, खण्डकाव्य, महाकाव्यजस्ता कृतिहरु उनले निकै छोटो समयमा लेखेका छन् । देवकोटाले कति लेखे त्यसको हिसाबकिताब गरेर सकिँदैन ।

उनले दशौँ दिनमा एउटा महाकाव्य (सुलोचना) लेखेर आँसुकविको पदवी प्राप्त गरेका थिए । नेपाली भाषा प्रकाशिनी समितिले देवकोटालाई युगकविको उपाधि दिएलगत्तै काशीबाट प्रकाशित हुने पत्रिकामार्फत ईश्वर बरालले उनलाई ‘महाकवि’को पदवी दिएका थिए । जसले गर्दा आज संसारभर उनी महाकवि भनेर चिनिन्छन् । यसका साथै उनलाई नेपाली साहित्य परिषद्बाट प्रकाशित ‘साहित्य स्रोत’ पत्रिकाले २००४ सालमा विभूतिको रुपमा समेत सम्मान गरेको थियो ।

कृतिहरु

उनका चर्चित कृतिहरुमा कवितासंग्रहअन्तर्गत भिखारी, सुनको बिहान, मृत्युशय्याबाट, लक्ष्मी कविता संग्रहलगायत हुन् । खण्डकाव्यहरुमा मुनामदन, कुञ्जिनी, सीताहरण प्रकाशित छन् । महाकाव्यहरुमा सकुन्तला, सुलोचना हुन् । त्यस्तै उनका निबन्धहरु भलादमी, के नेपाल सानो छ ? आदि रहेका छन् ।

देवकोटाले नेपाली साहित्यमा लगाएका गुण अविस्मरणीय छ । नेपाली भाषा साहित्यलाई अग्रेजी भाषामा अनुवाद गरेर विश्वसामु चिनाउने देवकोटा नै हुन् । देवकोटाले झ्याउरे लयमा ‘मुनामदन’ लेखेपछि नेपाली भाषा प्रकाशिनी समितिले उनलाई पण्डितको दर्जा दियो । मुनामदन नेपाली साहित्यमा आज पनि त्यति नै चर्चापरिचर्चा हुने कृति हो । यो सबैभन्दा बढी बिक्री भएको पुस्तक पनि हो ।

साधाण जीवनशैलीका देवकोटाले मुनामदनमा धनसम्पत्तिलाई हातका मैलासँग तुलना गरेका छन् । त्यसैले पनि हो कि जीवनमा त्यति धेरै प्रख्यात भएर पनि उनले हाइफाईको जीवन कहिल्यै अँगालेनन् । त्यस्तै उनले समाजमा व्याप्त जातीय विभेदलाई पनि आफ्नो रचनामार्फत उजागर गर्न खोजेका छन् । उनले मुनामदनलाई अरु कृतिलाइ भन्दा बढी प्रेम गरे । मर्ने बेलामा पनि उनले ‘मेरा सबै किताब जलाए पनि मुनामदन नजलाइदिनू’ भनेका थिए ।

पारिवारिक जीवन

देवकोटाको १६ वर्षको उमेरमा विवाह भएको थियो । परिवारले उनको विवाह इन्द्रचोक निवासी नुतनराज चालिसेकी छोरीसँग गराइदिएका थिए । सुरुमा उनीहरुबीचको वैवाहिक जीवन सुखमय भए पनि अन्तत विभिन्न कारण उनीहरुको पारिवारिक जीवनमा विभिन्न समस्याहरु सिर्जना भए । देवकोटाका ५ छोरी र ४ छोरा जन्मेका थिए । तर अधिकांशको अल्पायुमै मृत्यु भएको थिया । अझ १९९१ र ९२ सालमा देवकोटाले क्रमशः माता र पिताको मृत्युको वियोग सहनुपरेको थियो ।

उनको जीवन सानैदेखि गरिबीले गाँजेको थियो जुन अन्तिमसम्म रह्यो । ‘युगवाणी’ पत्रिकाको सम्पादन गर्ने भए पनि उनी यति धेरै गरिब भए कि एक खिल्ली चुरोट पनि बाटोमा मागेर खानुपर्ने स्थिति आयो । देवकोटा दैनिक १८ घण्टा ट्युसन पढाउँदा र असी बिगाह खेत हुँदा पनि कयौँ रात भोकै हुन्थे । उनले लेखेको ‘भिखारी’ कविताका पात्र स्वयं देवकोटा नै बने ।

राजनीतिक यात्रा

संसदमा हिन्दी भाषामा भाषण गर्नेका विरुद्ध अग्रेजीमा भाषण गरेर सबैलाई उनले चुनौती दिएका थिए । यति मात्रै हैन उनी शिक्षामन्त्री भएका बेला देशभरका विद्यालयमा हिन्दीको साटो नेपालीमा अध्ययन, अध्यापन गराउने कामसमेत सुरु भयो । नेपाली भाषालाई राष्ट्र भाषाको रुपमा विकास गर्न उनको ठूलो योगदान रहेको छ । देवकोटा २०१४ सालमा डा. केआइ सिंहको नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा तथा स्वायत्त शासनमन्त्री बनेका थिए । उनको कार्यकाल ११० दिनसम्म रह्यो ।

मृत्यु

२०१४ सालमा त्रिभुवन विश्वविद्यालयको कामको सिलसिलामा भारतको लखनउ जाँदा उनलाई पेट दुख्ने समस्या भयो । जचाउँदा अल्सर भएको भन्ने डाक्टरले रिपोर्ट सुनाए । समयमा अप्रेसन नगर्दा अल्सर बिग्रेर क्यान्सर भयो । त्यसपछि उनलाई नेपालको पाटनस्थित शान्त भवन अस्पतालमा भर्ना गरियो । उनलाई अस्पतालबाट मस्को लगेर उपचार गर्ने अवसर मिले पनि ढिला भइसकेकाले सम्भव भएन । उनले जीवनको अन्तिम घडीमा पनि नेपाली र अग्रेजी भाषामा कविता लेखे । जसमा शून्यमा शून्य सरी, लाइभ अफ द रिचेष्ट, प्रमिथन पेन आइ वियर हुन् ।

उनी जसरी बेलुकी यो धर्तीमा जन्मे, त्यसरी नै बेलुकीको समय २०१६ साल भाद्र १९ गते ६ बजेर १० मिनेटमा यो धर्ती पनि छोडे । आज देवकोटा हामीमाझ छैनन् तर उनका रचनाहरु अझै जीवित छन् ।

प्रकाशित समय १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु