गृहपृष्ठ कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ ।

देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो । ११२ औँ लक्ष्मी जयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले तीनै स्रष्टाको शालिकमा माल्यार्पण गरे । कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा नेता नेपाल, प्रतिनिधिसभाका सदस्य कृष्ण राई, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायतले पुस्तकालयमा तीन स्रष्टाको शालिक स्थापना भएपछि साहित्यिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

स्मारकको निर्माणको परिकल्पना मन्त्री फुयाँलले गरेका हुन् । प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/७६ मा ४० लाख रूपैयाँ विनियोजन गरेर शान्ति उद्यान र देवकोटा शालिक निर्माण सुरु गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २९ लाख रूपैयाँ विनियोजन गरेर बाँकी दुई साहित्यकारको शालिक निर्माण गरिएको हो ।

यसअघि १०९ औँ लक्ष्मी जयन्तीका अवसरमा नेता फुयाँलसहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती र १०१ साहित्यकारले एक रूपैयाँका दरले चन्दा दान गरेर तीन जना साहित्यकारको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो । स्मारकको निर्माण यही वर्ष सम्पन्न भए पनि कोरोना महामारीका कारणले औपचारिक उद्घाटन नगरिएको फुयाँलले जानकारी दिए । (रासस)

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु