गृहपृष्ठ कर्णाली प्रदेशसभा : अनिश्चित बन्यो हिउँदे अधिवेशन
कर्णाली प्रदेशसभा : अनिश्चित बन्यो हिउँदे अधिवेशन
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ । गत असार २९ गते छैटौं अधिवेशन (वर्षे अधिवेशन)को उनन्तिसौं बैठक बसेपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
बैठक स्थगित भएको करिब ६ महिना लागिसक्दा समेत आगामी बैठकको टुंगो लागेको छैन । कर्णाली प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले हिउँदे अधिवेशनको अझै टुंगो लागिनसकेको जानकारी दिए । ‘बैठक बस्नलाई सयम पनि भएको छैन,’ उनले भने, ‘पहिलो अधिवेशनदेखि दोस्रो अधिवेशन बस्ने समयको अन्तर छ महिना कट्नु हुँदैन ।’ असारमा बैठक सकिएको भए पनि कात्तिक ९ गते रातिदेखि मात्रै बैठक स्थगित भएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको उनले बताए ।
सरकारले बिजनेश नभएको कारण पनि बैठकको आव्हान नगरेको हुनसक्ने उनले बताए । करिब सात-आठवटा जति विधेयक समितिहरुमा विचाराधीन अवस्थामा रहेको उनले जानकारी दिए । सरकारले चाहेपछि विशेष अधिवेशनसमेत बोलाउनसक्ने उनले सुनाए । सचिव बुढाका अनुसार आगामी माघ–फागुनमा मात्रै कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन बस्ने तयारी छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले हिउँदे अधिवेशनको लागि ठोस छलफल नभएको बताए । ‘बैठक त आव्हान गर्नैपर्छ । तर यही समयमा बस्ने भन्ने कुनै ठोस छलफल भने भएको छैन,’ उनले भने । मन्त्री भण्डारीले नियमित बैठक भएकाले खासै ठूलो एजेण्डा नभएको जानकारी दिए । समितिमा आएका विधेयकहरु नै आगामी अधिवेशनका एजेण्डा बन्ने उनले बताए । सरकारले मन्त्रिपरिषद्को बैठक बसी छिट्टै हिउँदे अधिवेशनको आव्हान गर्ने तयारी गरेको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जिवनबहादुर शाहीले सरकारको आन्तरिक विवाद नसकिएसम्म सभाको बैठक हुन नसक्ने तर्क गरे । ‘बैठक असारदेखि बसेको थिएन । तर औपचारिक रुपमा बैठक स्थागित भएको धेरै समय भएको छैन,’ उनले भने । एउटा बैठकदेखि अर्को बैठकको अन्तर छ महिनाभन्दा बढी हुनु नहुने कानुनी प्रावधान रहेको उनले पनि जानकारी दिए । हिउँदे अधिवेशन मंसिर र पुसमा बस्न सके राम्रो हुने उनले बताए ।
कर्णाली प्रदेशसभा नियमावली २०७४ को परिच्छेद २ को दफा ३ मा अधिवेशन आव्हान र अन्त्यको व्यवस्था गरिएको छ । जसको उपदफा २ मा सभाको एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भ बिचको अवधि ६ महिनाको हुनुपर्नेछ भन्ने उल्लेख छ । यद्यपि कर्णाली प्रदेश प्रमुखको कार्यालयले कात्तिक ९ देखि अधिवेशन औपचारिक रुपमा स्थगित भएको जानकारी गराएको थियो ।
प्रकाशित समय १८:१८ बजे

















