गृहपृष्ठ अनलाइन टीभीको विषयवस्तु तथा प्रस्तुतिमा गुणस्तर वृद्धि गर्न आवश्यक

अनलाइन टीभीको विषयवस्तु तथा प्रस्तुतिमा गुणस्तर वृद्धि गर्न आवश्यक

संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।

आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र आकर्षण दिनप्रतिदिन बढिरहे पनि यसको व्यवस्थापन तथा संस्थागत विकासको आवश्यकता पनि उत्तिकै रहेको अनलाइन टिभी पत्रकार संघले जनाएको छ ।

संघका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयवस्तु तथा प्रस्तुतिको गुणस्तर वृद्धि गर्न सबैले आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बेला भएको उल्लेख गर्नुभएको छ । सबै अनलाइन टीभीकर्मीलाई संगठित हुन र एक अर्कालाई सहयोग, सीप र ज्ञान आदानप्रदान गर्न पनि उनीहरुले सबैलाई आह्वान गरेका छन् ।

अनलाइन टेलिभिजनलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन सबै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायका बीचमा सहकार्य गर्दै केही प्रयास भइरहेको संघले जानकारी दिएको छ । नेपालमा पहिलो टेलिभिजनको रुपमा २०४१ साल माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सय बढी टेलिभिजन सञ्चालनमा रहेका छन् । त्यसैगरी अनलाइन टेलिभिजनको संख्या पनि बढिरहे पनि यसको कुनै आधिकारिक तथ्यांक भने उपलब्ध छैन । (रासस)

प्रकाशित समय १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु