गृहपृष्ठ कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक : मुख्यमन्त्री भट्ट

कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार पत्रकार संघ (हुर्जा) को आयोजनामा ‘संघीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानुन बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए ।

‘नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौं,’ उनले भने, ‘देशमा राम्रा कानून बनेका छन् तर मानसिकता बदलिएको छैन, मानसिकता नबलिँदासम्म जति राम्रो कानून बने पनि जटिलता आइराख्छ ।’ देशमा एउटै दलको सरकार रहेको भए पनि कानुन बन्न ढिलाइ भएको समेत मुख्यमन्त्री भट्टले बताए । ‘मैले कानुन नबन्दा भएको अप्ठ्यारोबारे संघीय सरकारसँग कुरा राखिसकेको छु,’ उनले भने, ‘सुरुमा संघले कानुन बनाउन ढिलाइ गर्‍यो, त्यसपछि प्रदेश अनि स्थानीय तहमा पुग्दासम्म संघीयता कार्यान्वयनमा ढिलाइ भएको छ ।’ उनका अनुसार संघले कानुन नबनाउँदासम्म प्रदेशले काम गर्न नसक्ने भएकाले कानून बन्न ढिलाइ हुँदा सबै तहका सरकारलाई काम गर्न केही जटिलता देखिएको छ ।

अन्य प्रदेशमा सम्पन्न भएको ‘संघीयताको कार्यान्वयनमा सरोकारवालाको भूमिका’ विषयक भर्चुअल बैठक सुदूरपश्चिममा शनिबार सम्पन्न भएको मानअधिकार पत्रकार संघ (हुर्जा) का अध्यक्ष घनश्याम खड्काले जानकारी दिए । प्रदेशगतरूपमा देशभरि गरिएको भर्चुअल बैठकमा बोल्ने अधिकांश वक्ताले कानुन कार्यान्वयन गर्न सबैले प्रतिबद्धता गरे पनि कार्यान्वयनमा उदासीन भएको बताएका थिए ।

नगरप्रमुखसहित १८ जनामा कोरोना

बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

गोठलापानीको एक होटेलमा रहेका दुई पर्यटकको जाँच गर्दा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमितको संख्या ५५१ पुगेको छ । संक्रमित मध्ये ५५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना रहेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा चार, पाटन नगरपालिकामा तीन र सुर्नया तथा पञ्चेश्वर गाउँपालिकामा एक/एक जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिका क्षेत्रलाई आजदेखि लकडाउन गरिएको छ । नगरकार्यपालिकाको बैठकले मंसिर २२ गतेसम्म लकडाउन घोषणा गरेको हो । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका कोरोनाको ‘हटस्पट’ बन्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

नगरपालिकामा ३६ जना सक्रिय संक्रमित रहेका र एकैदिन १८ जनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । चिसोको समयमा कोरोनाको संक्रमण झन् फैलिने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन आग्रह गरिएको छ । (रासस)

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु