गृहपृष्ठ स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् ।ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शय्या भवन निर्माणको शिलान्यास गरेपछि बोल्दै अर्थमन्त्री पौडेलले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको जानकारी दिए ।

उनले स्वस्थसँग बाँच्न पाउनुपर्ने संविधानको मौलिक हकअनुसार स्थानीय तहमा सुविधासम्पन्न पूर्वाधार, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानका रुपमा स्थानीय तहहरुमा एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको बताए । अर्थमन्त्री पौडेलले १८ करोड रुपैयाँको सीमामा रहेर १५ शय्याको अस्पताल निर्माण गर्न सकिने भन्दै पूर्वनिर्धारित समय दुई वर्षअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । उनले अस्पताल निर्माण गर्दा लागत, गुणस्तरीयता र समयमा काम सक्ने कुरालाई विशेष ध्यान आग्रह गरे ।

अर्थ मन्त्रालयले एक हप्ताअघि ५, १० र १५ शय्याका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई
सहमति दिएको थियो । अर्थ मन्त्रालयले स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री पौडेलले सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० शय्याका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्था गरिएको जानकारी दिए । ‘अस्पताल निर्माणको कार्य अघि बढ्दै जाँदा थप बजेटको निकासा हुन्छ । बजेटको अभाव हुँदैन,’ अर्थमन्त्री पौडेलको भनाइ थियो ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु