गृहपृष्ठ यो वर्ष कैलालीमा सुदूरपश्चिम महोत्सव नहुने
यो वर्ष कैलालीमा सुदूरपश्चिम महोत्सव नहुने
कैलालीको धनगढीमा हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव यसवर्ष नहुने भएको छ । कोरोना कहरले महोत्सव रोकिएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले मेला, महोत्सवमा रोक लगाएकाले यस वर्ष पूर्व निर्धारित मितिमा महोत्सव गर्न नसकेको जनाएको हो । ‘तत्काललाई हामीले महोत्सव आयोजना स्थगित गरेका छौं,’ संघका अध्यक्ष पुष्पराज कुँवरले भने, ‘सबैसँग छलफल गरेर कुनै उपयुक्त समयमा महोत्सव आयोजना गर्छौं ।’
स्थानीय प्रशासनले अनुमति दिएमा माघ, पुस महिनामा पनि महोत्सव सञ्चालनका लागि संघ तयार रहेको पत्रकार सम्मेलनमा जनाइएको छ । ‘बरु यसका सुरक्षाका उपयुक्त मापदण्ड अपनाउन तयार छौं,’ कुँवरले भने । उनले कोरोना कहरले शिथिल भएको व्यापार, व्यवसायलाई चलायमान बनाउनका लागि मेला, महोत्सव आयोजना र त्यसमार्फत् व्यापार, व्यवसायको प्रवर्द्धन गर्न जरुरी भइसकको उल्लेख गरे ।
संघले २०६३ सालदेखि यहाँ महोत्सव आयोजना गर्दै आएको छ । विगत १३ वर्षदेखि सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव यो प्रदेशको पर्व जस्तै भइसकेको संघका महासचिव ओम विष्टले बताए । ‘प्रदेशको पर्व जस्तै भइसकेको यो महोत्सवलाई देश विदेशमा रहेका मान्छेहरु कुरेर बसेका हुन्छन्,’ उनले भने । ‘सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गरेर मेला, महोत्सव गर्न नदिएकाले सुदूरपश्चिम महोत्सवलाई हामीले तत्कालका लागि स्थगित गरेका हौं ।’
उनले लोकदोहोरी साँझलगायत विभिन्न कार्यक्रम सञ्चालन भइसकेका, विद्यालयसमेत खुलिसकेकाले मेला, महोत्सव आयोजना गर्न पाउनका लागि सरोकारवाला निकायसंग छलफल चलाइने बताए । पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित समय १८:४२ बजे

















