गृहपृष्ठ जनताका गुनासा सुन्न जिल्ला जाँदै सार्वजनिक लेखा समिति
जनताका गुनासा सुन्न जिल्ला जाँदै सार्वजनिक लेखा समिति
सार्वजनिक लेखा समिति कर्णाली प्रदेश नागरिकका गुनासा सुन्न जिल्ला जाने भएको छ । समितिको आइतबार बसेको बैठकले आगामी २५ गते रुकुमपश्चिम जिल्लामा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो ।
जिल्लाका विकास कार्यालय प्रमुखहरुको कार्यप्रगति रिपोर्टसहित, राजनीतिक दलका प्रतिनिधि, नागरिक संघ संस्थाका अगुवा तथा स्थानीय तहका प्रतिनिधिहरुसँग समितिले अन्तर्क्रिया कार्यक्रम गर्ने भएको हो । जिल्लामा भएका विकासे गतिबिधिमा निगरानी गर्न तथा पारदर्शिताका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागेको सार्वजनिक लेखा समितिका अध्यक्ष दिनवन्धु श्रेष्ठले जानकारी दिए ।
‘कतिलाई आर्थिक गतिविधिको निगरानी गर्ने समिति छ भन्ने पनि जानकारी छैन,’ उनले भने, ‘लेखा समितिको काम कर्तव्यको बारेमा नागरिकलाई जानकारी दिनसमेत यो कार्यक्रमको आयोजना गर्न लागेका हौं ।’ उनले जिल्लाका विकासे कार्यालयका प्रमुखले चालू आर्थिक वर्षको कार्य प्रगतिसहित कार्यक्रममा उपस्थिति गराउने तयारी भएको जानकारी दिए । रुकुममा अन्तर्क्रिया कार्यक्रमपश्चात् नागरिकका गुनासाका आधारमा आयोजनाहरुको अनुगमनसमेत गर्ने तयारी भएको उनले बताए ।
श्रेष्ठका अनुसार आइतबार बसेको समितिको बैठकले प्रदेशका सबै मन्त्रालयहरुलाई चालू आर्थिक वर्षका कार्य प्रगति रिपोर्ट माग गरेको छ । साथै आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारले रकमान्तर गरी गरेको खर्चको विवरण आगामी तीन दिन भित्रमा दिनको लागि ताकेतासमेत गरेको उनले सुनाए । सामाजिक विकास मन्त्रालयलाई समेत कोरोना भाइरस (कोभिड–१९) का लागि गरेको सम्पूर्ण खर्चको विवरणसमेत माग गरेको श्रेष्ठले जानकारी दिए ।
प्रकाशित समय ०९:२४ बजे

















