गृहपृष्ठ गरिबको छानामाथि डोजर !

गरिबको छानामाथि डोजर !

सोही ठाउँमा १२ वर्षदेखि बस्दै आएकी नरुदेवी परिवार चार दिनदेखि बेघरबार

सुदूरपश्चिमको मुख्य सहर धनगढी उपमहानगरपालिकाभित्र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचनामाथि नगरपालिकाले दमन गर्न थालेको छ । तत्कालिन नगरविकास समितिका पदाधिकारीहरुसँगको मिलोमतोमा धनगढीका सबै खोला अतिक्रमण भएर संरचना बनिसकेका छन् ।

नाला अतिक्रमण गरेर बनेका पक्की संरचनामा भने उपमहानगरको ध्यान गएको छैन । तर, खानै नपुग्ने, विपन्न र द्वन्द्वपीडित परिवारको छानामा भने उपमहानगरले डोजर चलाएको छ ।
धनगढी बजारको पुल नजिक ऐलानी जग्गामा १२ वर्ष अघिदेखि बस्दै आएकी नरुदेवी बोहराको परिवार चार दिनदेखि बेघरबार भएको छ । उपमहानगरपालिकाले नाप नक्साभित्र परेको जग्गा भन्दै डोजर लगाएर उनको टिनको टहरो भत्काइदियो । टहरो भत्किएपछि तीन छोरा, श्रीमान् र नातिनीसहित नरुदेवीको परिवार खुला आकाशमा बस्न बाध्य भएको छ ।

डोजरले टहरो भत्काउन खोज्दा नरुदेवीका श्रीमान्, छोरा र दुई वर्षीया नातिनी बालिका सडकमै सुतेर अवरुद्ध गर्न खोजे पनि स्थानीय सरकार र धनगढी वडा प्रहरी कार्यालयका कर्मचारीहरू बीच उनीहरू निरीह बने । नरुदेवी बोहोराको परिवार द्वन्द्वकालमा डोटी जिल्लाबाट विस्थापित भएको हो । राजनीतिसँग दूरसम्म कतै नाता नभएको परिवारले धनगढी बजारमा खेप्नु सास्ती खेप्यो । जेनतेन मजदुरी गरेर गुजार गर्दै गरेको परिवारमा नरुदेवी घाइते भएपछि विपत्ति थपियो ।

तत्कालीन माओवादी र प्रहरीबीच भएको द्वन्द्वमा उनको खुट्टामा गोली लागेको थियो । ‘द्वन्द्वकालमा लागेको गोलीको पीडा अहिले पनि ताजै छ,’ नरुदेवीका छोरा राजेन्द्र बोहराले भने, ‘२०६० सालमा धनगढीकै सेतो पुलमा सशस्त्र द्वन्द्वका बेला दोहोरो भीडन्त हुँदा प्रहरीको गोली लागेर आमा घाइते हुुनुभयो ।’ उनले भने, ‘सरकारले मेरो आमालाई गोली हानेर अपाङ्ग त बनायो । तर, राहतबाट पनि पीडित बनायो ।’ राज्यले कोहलपुरमा लगेर अप्रेसनबाहेक केही नगरेको उनले बताए । छोरा राजेन्द्रले भने, ‘उपमहानगरपालिकाले अहिले घरबारबिहीन बनायो, हामीमाथि उपमहानगरपालिकाले अन्याय गर्‍यो ।

सडक दुर्घटनामा परी श्रीमान् पनि घाइते भएपछि अर्को संकट थपियो । श्रीमान् काम गर्न नसक्ने भए । त्यति मात्रै होइन, एउटा मिर्गौलाले काम गर्न छोडेको डाक्टरले बताएपछि औषधिकै भरमा जीवन धान्नुपर्ने बाध्यतामा उनी थलिए । एकपछि अर्को विपत्ति बेहोरेकी नरुदेवीले २०७६ को दसैंमा बुहारी पनि गुमाइन् । एक वर्षीया छोरी छोडेर बुहारीले आत्महत्या गरेपछि नातिनी करिष्माको अभिभावकत्व पनि नरुदेवीकै जिम्मामा आयो । दुई छोरा राजेन्द्र र करण विद्यालय जान्छन् । जेठो छोरा मेघराज मजदुरी गर्छन् ।

‘आफूलाई मासिक २५ हजारभन्दा बढीको औषधि मात्रै लाग्छ,’ नरु देवीले भनिन्, ‘श्रीमानका लागि औषधि, केटाकेटीको पालनपोषण सबैको जोहो गर्ने त्यही एउटा टहरो थियो ।’ त्यसै टहरामा चिया पसलसँगै गाई, कुखुरा तथा हाँस पालेर दुःखका साथ जीवन धानिएकै थियो । अब त त्यो पनि छैन, उनी भावुक बनिन् । ‘राज्यले अपाङ्गको परिचयपत्र बनाइदिएको छ । तर, राज्यले अझै पनि भत्ता दिएको छैन,’ नरु देवीले भनिन् । ‘यसभन्दा अघि सरकार कता हराएको थियो ? खै त मैले अपाङ्ग भत्ता पाएको ?

हुने खानेले उपमहानगरलाई उक्सायो

चिया र नास्ताको ठेला लगाएर परिवार लालनपालन गरेको देखेर टोल उपभोक्ता समितिका प्रमुखलाई गाह्रो भएको थियो, यो सबै उनैको काम हो ।’ अब यो अवस्थामा परिवार लिएर म कता जाऊँ ?’ नरु देवीले प्रश्न गरिन् ।

‘टोल उपभोक्ता समितिले बत्ती र पानी पनि दिएको थिएन, नरुदेवीका श्रीमान् पदम बोहराले भने, ‘मैले यिनीहरूको के बिगारेको थिएँ, आफैं गरिखाएको थिएँ, त्यो पनि देख्न सकेनन् ।’ अहिले नरुदेवीको परिवार बसेको जमिनछेउमै वषौंदेखि सोही नजिक घर भएका उज्वल पनेरुले मासिक भाडा लिन्थे पदमले भने ‘एक पटक भाडा नदिएको जोसमा पनेरु परिवारले छाप्रो भत्काइदियो । त्यसपछि उनले कब्जा गरेको जमिन बाहिर बस्न थालेका हौं । तर, उज्वलको परिवारले भाडा बिना खोला छेउमा बसेको सहन सकेनन् ।’ उनले भने, ‘म गरिबको परिवार बसेको धनी पनेरु परिवारले हेर्न सकेन फेरि धनगढी उपमहानगरको टिम बोलाएर भत्काउनै लगायो, अब हामी कहाँ जाऊँ ।’

सार्वजनिक साझेदारीबाट सञ्चालित तरकारी हाट बजारमा नरुदेवीको परिवारलाई केही समयका लागि निःशुल्क बस्न दिने र व्यापार बढ्दै गएपछि भाडा दिनुपर्ने सर्तमा सहमति भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित समय ०९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु