गृहपृष्ठ शीतलहरबाट जोगाउन तराईमा विशेष स्थलगत अध्ययन हुने
शीतलहरबाट जोगाउन तराईमा विशेष स्थलगत अध्ययन हुने
शीतलहरका कारण तराई क्षेत्र बर्सेनि प्रभावित हुने गरेकाले सरकारले यसवर्ष त्यस क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउन थालेको छ । चिसोका कारण र चिसोबाट बच्न आगो बाल्दा जलेर तथा निसासिएर ज्यान गएका घटना बेलाबेलामा हुँदै आएकाले मानवीय क्षति कम गर्न विशेष प्राथमिकता दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यसका लागि प्राधिकरणले तराई क्षेत्रमै पुगेर अवस्थाको अध्ययन गर्ने भएको छ । विपदबाट हुने क्षति रोक्न आवश्यक पूर्वतयारीका कार्यक्रमअन्तर्गत जाडो सुरु हुनुअघि नै स्थलगत अध्ययन र अन्तर्क्रियामार्फत सुझाव लिन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार शनिबार नै टोली त्यसतर्फ जानेछ ।
‘प्रदेश २ मा पुगेर सरोकारवालाबीच अन्तरक्रिया गर्ने, अवस्था बुझ्ने, जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरी समस्याको बारेमा जानकारी लिन्छौँ र सम्भावित जोखिमबाट क्षति कम गर्न उपाए खोज्छौँ,’ उनले भने, ‘यसले आगामी दिनमा योजना निर्माणका लागि ठूलो सहयोग हुने अपेक्षा छ ।’ अवस्था बुझेपछि सो क्षेत्रमा थम सामग्री चाहिने अवस्था देखिए उपलब्ध गराइने छ ।
मौसमविद् तथा वैज्ञानिकले यसवर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको छ । तर पनि तराई क्षेत्र भने सधैँ नै प्रभावित हुने ठाउँ हो । विशेष गरी प्रदेश नं २ यसबाट नराम्ररी प्रभावित हुने भएकाले सो क्षेत्रमा पुगेर अवस्था बुझने र आवश्यक पूर्व तयारीका काम गर्न लागिएको हो । जाडोबाट विशेष गरी तराई र हिमाली क्षेत्र बढी प्रभावित हुन्छ ।
मौसमी विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर चिसो बढीसकेको जनाएको छ । प्राधिकरणका प्रवक्ता जनार्दन गौमत चिसोबाट कसरी मानवीय क्षति कम गर्न सकिन्छ भनेर विशेष योजनाका साथ काम थालिएको बताउँछन् । जिल्लामा पत्राचार गरेर आवश्यक तयारीमा जुट्न र क्षति कम गर्ने कार्ययोजनासहित पेश गर्न भनिएको छ ।
उनका अनुसार आवश्यक सावधानी र कार्यक्रम लागू गर्दा गत वर्ष भने मानवीय क्षति रोक्न सफल भएको गृह मन्त्रालयको भनाइ छ । चिकित्सकले जाडो मौसममा बालबालिका र वृद्धवृद्धा बढी जोखिम हुने भएकाले विशेष ख्याल गर्नुपर्ने जनाएको छ ।
प्रकाशित समय ११:१६ बजे

















