गृहपृष्ठ यातायात व्यवस्था कार्यालयको कागजपत्र अख्तियारको नियन्त्रणमा

यातायात व्यवस्था कार्यालयको कागजपत्र अख्तियारको नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय कैलालीका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी चालक अनुमति पत्रमा आर्थिक चलखेल भएको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले कार्यालयका कागजपत्र नियन्त्रणमा लिएको हो ।

प्रयोगात्मक परीक्षामा असफल भएकाहरुलाई सवारी चालक अनुमति पत्र वितरण भएको गुनासोपछि कार्यालयका सबै कागजपत्र नियन्त्रण लिएको हो । हालै सम्पन्न भएको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएकाहरुलाई समेत सवारी चालक अनुमति पत्र वितरण गरिएको भन्ने गुनासोका आधारमा कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख खग्रेन्द्रप्रसाद रिजालले बताए ।

रिजालले धनगढीको फाप्ला क्रिकेट मैदान नजिकैको ट्रायल स्थलमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेजसमेत नियन्त्रण लिइएको बताए । सो फुटेजमाथि समेत अनुसन्धान थालिएको अख्तियारले जनाएको छ । यातायात व्यवस्था कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको मिलेमतोमा प्रयोगात्मक परीक्षामा उत्तीर्ण नभएकाहरुलाई आर्थिक चलखेलमा सवारी चालक अनुमति पत्र वितरण गरिएको आरोप लागेको थियो ।

यसअघि अख्तियार महेन्द्रनगरले १ लाख ६६ हजार घुस रकमसहित गत वर्ष तत्कालीन कार्यालय प्रमुखसहित ३ जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको थियो ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु