गृहपृष्ठ बागमती प्रदेशमा बिक्री भएन ९१ लाखको गहुँको बीउ
बागमती प्रदेशमा बिक्री भएन ९१ लाखको गहुँको बीउ
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा ९१ लाख रूपैयाँ बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७७/७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ ।
पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभएर थन्किएको कार्यालयका सूचना अधिकारी गणेश जोशीले जानकारी दिए । सो बिक्री नभएको गहुँको बीउको अनुमानित मूल्य करिब ९१ लाख रूपैयाँ रहेको छ । कार्यालयले गहुँको बीउ प्रतिकेजी ६५ रूपैयाँमा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको थियो । पछिल्लो पटक निजी बीउ बिक्री उत्पादक कम्पनीले प्रतिकेजी ५५ रूपैयाँसम्म पनि बिक्री गरेपछि कृषि सामग्री कम्पनीमा मौज्दात गहुँका बीउ बिक्री नभएको कार्यालयको जिकिर छ ।
बिक्री नभई राखिएको गहुँको बीउ समयमै बिक्री गर्न लिमिटेडको सञ्चालक समितिको बैठकबाट मात्रै रकम घटाउन सकिने अन्यथा कार्यालयले कम मूल्यमा गहुँको बीउ बिक्री गर्न पाइने छैन । अब सो गहुँको बीउ बिक्री नभएपछि लिलाम गरिने वा सुरक्षित गरी प्रशोधनपश्चात् अर्को बर्ष बिक्री गरिने कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।
कार्यालयको कार्य क्षेत्रअन्तर्गत चालू आवमा बागमती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहटसहित अन्य जिल्लामा सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा गहुँको बीउ उपलब्ध गराउँदै आएको थियो ।
किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ । त्यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिक महिनादेखि मंसिर मसान्तसम्म गहुँको बीउ बिक्री गर्ने गर्दछ । गहुँको बीउ जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन् । हरेक वर्षको कात्तिक महिनादेखि पुसको पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ । यस वर्ष बिक्री गरिएको एक हजार ४०८ मेट्रिक टन बीउबाट करिब ३८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान छ ।
हेटौँडामा यसअगावै रहेको साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड र साविकको कृषि सामग्री संस्थानलाई समावेश गरी संघीय संरचनाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको रूपमा स्थापना गरिएको थियो । विभिन्न पदका ११ कर्मचारीको दरबन्दी रहेको यस प्रादेशिक कार्यालयमा हाल कार्यालय सहयोगी दुई, सवारी चालक एक र अन्य तीन जना प्रशासनिक कर्मचारी मात्र कार्यरत रहेका छन् । कार्यालयमा एक कम्प्युटर सहायक, एक कृषि अधिकृत, एक लेखा अधिकृत, एक नायब प्राविधिक सहायक र एक प्लान्ट (प्रशोधन कारखाना) अपरेटर रिक्त छन् । (रासस)
प्रकाशित समय ०८:४० बजे

















