गृहपृष्ठ बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज मंगलबार अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन् ।

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । बिग बास भने गत बिहीबारदेखि नै सुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरुआती छ खेल गुमाउनेछन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् ।

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए । उनी आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो ।

हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट संक्रमित भएका थिए । हाल उनि कोरोनाबाट मुक्त भइसकेका छन् ।

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु