गृहपृष्ठ शाकाहारी महोत्सवको आयोजना
शाकाहारी महोत्सवको आयोजना
शाकाहारी तथा वनस्पतिजन्य खानेकुराको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ आज ‘शाकाहारी महोत्सव’ आयोजना गरिएको छ । पशु कल्याणकारी संस्था स्नेहाज केयरले हात्तीसरस्थित नेपाल हाउसमा गरेको कार्यक्रममा बारा, आलु, भटमास, फलफूल, जुसलगायत १५ वटा शाकाहारी खानाका कक्ष तथा पशु उपचारसम्बन्धी सामग्रीका कक्ष राखिएका छन् ।
बोधी गार्डेन, जुस मण्डलालगायत संस्थाको समन्वयमा विभिन्न किसिमका भिगान खानेकुराका स्टल छन् । शाकाहारी जीवनशैली, स्वास्थ्य तथा पशु कल्याण सम्बन्धमा विज्ञहरुसँग गरिएको अन्तर्क्रियामा पशु कल्याणका क्षेत्रमा क्रियाशील अधिकारकर्मी स्नेहा श्रेष्ठ, बौद्ध गुरु आङफुरी शेर्पा, सुरेश आचार्य लगायतले स्वस्थ जीवनशैली विकास गर्न दुग्धजन्य पदार्थ भएका विशुद्ध शाकाहारी खानेकुराको महत्व रहेकाले त्यसलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
शाकाहारी खानेकुरामा पनि मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने पौष्टिक तत्व समावेश भएको हुन्छ र त्यस्ता खानेकुराको सेवनले पशु कल्याणका साथसाथै मानव स्वास्थ्य र प्रकृतिको समेत संरक्षण हुने आयोजक संस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताए ।
महोत्सवले सर्वसाधारणको खाने र बाँच्ने तरिकामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पर्याउने र पशु कल्याण प्रवर्द्धन हुने विश्वास राखिएको छ । शाकाहारी खानेकुराको प्रवर्द्धनका लागि आयोजक संस्थाले निःशुल्क रूपमा विभिन्न खानेकुरा वितरण गरेको छ । सो अवसरमा ‘द इन्भेजिवल भेगन’ नामक वृत्तचित्र प्रदर्शन गरिएको छ ।
प्रकाशित समय १७:५२ बजे

















