गृहपृष्ठ चितवनमा पुनर्निर्माण : निजी आवासतर्फ ८० प्रतिशत प्रगति
चितवनमा पुनर्निर्माण : निजी आवासतर्फ ८० प्रतिशत प्रगति
फाइल तस्बिर
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो ।
कार्यालयका इन्जिनयर सुजन नेपालका अनुसार जिल्लामा रहेका सात हजार ८६० लाभग्राहीमध्ये ६ हजार ४१ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको एक लाख रूपैयाँसमेत लिइसकेका छन् । यस्तै दोस्रो किस्ताबापतको एक लाख ५० हजार (६ हजार ५२६ लाभग्राही)ले र पहिलो किस्ताबापत ५० हजार (सात हजार ५१६ लाभग्राही)ले लिइसकेका छन् ।
प्रबलीकरणतर्फ हालसम्म प्रथम किस्ताबापतको ५० हजार रूपैयाँ बुझ्ने एक हजार २६२ लाभग्राहीमध्ये नौ जनाले दोस्रो किस्ताबापतको रकम ५० हजार रूपैयाँ समेत बुझिसकेका छन् । प्रबलीकरणका लागि एक हजार ३७८ लाभग्राही रहेका छन् । नेपालका अनुसार कार्यालयसँग निजी आवासतर्फ ३४४ र प्रबलीकरणतर्फ ११६ जना लाभग्राहीसँग सम्झौता हुन सकेको छैन । ती लाभग्राहीको नाम सूचीबाट हटाउनका लागि सिफारिस गरिएको छ ।
नाम दोहोरिएका, वडामा समेत सम्पर्कमा नआएका, बसाइँ सरी अन्यन्त्र गएका, घर पुनर्निर्माण नगर्ने सोचमा रहेका लाभग्राहीका कारण सम्झौता गर्न नआएको नेपालले बताए । पहिलो किस्ता लिएका दोस्रो किस्ता लिन नआउने लाभग्राही ६३३ जना, तेस्रो किस्ता लिन नआउने ४०४ लाभग्राही रहेका छन् । स्थानीय निकायको समन्वयको कमीका कारण किस्ता लिन आउन नचाहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इन्जिनीयर सुवास न्यौपानेले बताए ।
कार्यालयमा प्रथम किस्ता रकम फिर्ता गर्ने दुई जना रहेका छन् । यसै क्रममा २३३ डकर्मी उत्पादन गरिएकोको कार्यालयले जनाएको छ । पहिलो किस्ताको सम्झौता गर्नका लागि प्राधिकरणले यही पुस १५ गतेसम्मका लागि समय दिएको नेपालले जानकारी दिए । यस्तै सोही अवधिमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तर्फ हालसम्म १७९ वटा विद्यालय भवन बनेका छन् । ५७४ वटा कक्षाकोठा निर्माण भएको शिक्षाका इन्जिनीयर सरोज श्रेष्ठले जानकारी दिए । शौचालय १०४ वटा र खानेपानी ५१ वटा निर्माण गरिएको छ । उनका अनुसार जिल्लाका २३३ वटा विद्यालयमा ७४० कक्षाकोठा क्षति पुगेको थियो । विद्यालयको भवन निर्माणतर्फ ५६ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । (रासस)
प्रकाशित समय १०:५६ बजे

















