गृहपृष्ठ हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । ती मोटरसाइकल महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जिम्मा लगाएका हुन् ।
ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका बनेपा, काभ्रे, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गोंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्यांफाँट, कालोपुल, कमलविनायक, घट्टेकुलो, जरंखु, चावहिल, पुरानो बानेश्वीर र बबरमहल लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, ‘घर कम्पाउण्डमा पार्किङ गरेको’ भनी ढुक्क नपर्न र ‘एकैछिन हो’ भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न मोटरसाइकल चालकलाई प्रमुख भट्टराईले सुझाव दिए । चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाईन सेवा Lost Vehicle Applicationमा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।
महाशाखाले पुसमा मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ९ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।

प्रकाशित समय १५:५३ बजे

















