गृहपृष्ठ ‘संस्कृति जोगाउन’ लागिपरेकी उर्मिलाले बुहारीलाई पनि घरमै दिइन् रोजगारी
‘संस्कृति जोगाउन’ लागिपरेकी उर्मिलाले बुहारीलाई पनि घरमै दिइन् रोजगारी
उर्मिला श्रेष्ठ गुल्मीमा जन्मिएकी हुन् । २०१९ सालमा गुल्मीमा जन्मिएकी उर्मिला व्यवसायको क्रममा बुवा सुर्खेतमा आएपछि उनी पनि सँगै सुर्खेत आएकी हुन् । सुर्खेतमा पनि नेवारी समुदाय भएकाले उनको विवाह बुवाले आफ्नै जात खोजेर गरिदिए । गुल्मीमा रहँदा नेवारी संस्कारमा हुर्केकी उनलाई सुर्खेतका नेवार समुदायमा त्यो संस्कार पाइनन् । नेवारी पहिचान झल्काउने खाना र खाजाका परिकारहरु सुर्खेती नेवार समुदायको घरमा नपाकेको देख्दा उनलाई अचम्म लाग्यो । केही बुढापाकाहरुले संस्कारलाई बचाउन खोजेको पाइए पनि नयाँ पुस्ताले संस्कृति भुल्दै गएको उनले महसुस गरिन् ।
उर्मिलाले आफ्नो समुदायबाट पलायन हुन लागेको संस्कृति जोगाउने उद्देश्यले नेवारी खाना-खाजा परिकारको व्यवसाय सञ्चालन गर्ने निधो गरिन् । सुरुमा उनले रोटीको परिकार बेच्न थालिन् । आफ्नै समुदायलाई रोटीका परिकारहरु पकाउन सिकाइन् पनि । तर अहिले उनी व्यवसायिक रुपमा नै नेवारी परिकार बेच्न थालेकी छन् । उनको सिजनमा मात्रै करिब साढे चार लाख रुपैयाँको व्यवसाय हुन्छ ।
पढाइमा सामान्य लेखपढ मात्र गरेकी उर्मिलाले आफ्नो हातमा भएको सिप बेचेरै लाखौं कमाउन सफल भएकी छन् । ‘धेरैजसो सुर्खेतमा रोटीको माग छ । वर्षमा मैले चारदेखि पाँच लाखसम्म आम्दानी गर्छु,’ उनले सुनाइन् । उर्मिलाको परिवारमा उनका श्रीमान र छोरा जागिरे छन् । उनलाई काम नगरे पनि बिहान-बेलुकीको छाक टार्न समस्या छैन । तर आफ्नो समुदायको संस्कृति बचाउन उनले रात-दिन मेहनत गरेकी छन् । सिजनको बेलामा उनी बाह्रै घण्टा काम गर्छिन् ।
छोरा-बुहारी, दुई नाति र श्रीमान-श्रीमती गरी उनको जम्मा छ जनाको परिवार छ । तर उनी पैसाको लागिभन्दा पनि नेवारी संस्कृति बचाउनको लागि यो काम गरेको तर्क गर्छिन् । उमेरले ५८ वर्ष टेकेकी उर्मिलाले महिनामा करिब ३५ हजार रुपैयाँभन्दा बढी घरमै नेवारी खाजा बेचेरै कमाउँछिन् । ‘नेवारी खाजा-खानाको परिकार त धेरै नै हुन्छ । तर सुर्खेतमा रोटीका परिकारको मात्रै बढी खपत हुन्छ,’ उनले थपिन् ।
उर्मिलाले व्यवसायिक रुपमा नेवारी परिकार (रोटी) बेच्न थालेको करिब पन्ध्र वर्ष भयो तर बजारीकरण गरेको भने पाँच वर्ष मात्रै भएको छ । उनका अनुसार अन्य ठाउँमा नेवारी परिकारहरु खोजी-खोजी खाने गरिएको भए पनि सुर्खेतमा भने रोटी मात्रै बिक्री हुने गरेको छ । उनले दसैं र तिहारको समयमा अत्याधिक व्यापार गर्छिन् । अरु समयमा भने विवाह र उत्सवहरुमा अर्डर आएको खण्डमा मात्रै परिकार तयार गर्ने उनले बताइन् । उनले गत वर्षमात्रै करिब चार क्वीन्टल सिन्कामारी रोटी बिक्री गरेकी थिइन् । फिनी रोटी, सेलरोटी, अनरसा रोटी, कागते रोटी, बनारसे रोटी लगायतका रोटीका परिकारहरु बनाई बिक्री गर्ने गरेको उनले सुनाइन् । उर्मिलाले अर्डर आएको खण्डमा नेवारी खानाको सबै परिकार, समेबजी (चिउरा, अण्डा, भटमास, माछा, मासु, लसुन, अदुवा) , तरकारीको परिकारमा चुकाउनी, टमाटरको भ्यातल, आलु फ्राई, गेडागुडी बनाउने गर्छिन् । त्यस्तै मासुको परिकारमा छोयला, कचिला, भुटन, रसमासु र उत्सवहरुमा योमरीसमेत बनाउने गरेकी छन् ।
उर्मिलामात्रै होइन उनले आफ्नी बुहारीलाई समेत रोजगार बनाएकी छन् । दुई छोरा विद्यालय गएपछि खाली बस्ने गरेकी बुहारी र आफू मिलेर नेवारी खाना-खाजाको परिकार बनाउने गरेको उर्मिलाले बताइन् । उनी मिसा देय देबू (नेवारी महिला समूह)को अध्यक्षसमेत भएर काम गरेकी छन् । उनले उक्त समूहबाट नेवारी परिकार पकाउने तालिमसमेत दिने गरेकी छन् । ‘मैले धेरेलाई व्यक्तिगत रुपमा निशुल्क पनि सिकाएकी छु । पछिल्लो समय व्यसायमा लाग्न चाहनेहरुलाई सामूहिक रुपमा तालिम दिने गरेकी छु,’ उनले सुनाइन् ।
उनकाअनुसार शिक्षा निर्देशनालय सुर्खेतको आर्थिक सहयोगमा जनजाति महिलाहरुको परम्मरागत सिप कार्यक्रमअन्तर्गत नेवार समुदायको विभिन्न परिकार तथा हातले तयार पारेको दुना-टपरीसम्बन्धी १५ दिने तालिम दिने अवसरसमेत पाइन् । जसमा नेवार समुदायका २१ जना महिलाले प्रशिक्षण पाएको उनले बताइन् । आफूले कुनै पनि तालिम नलिइकनै बुवा-आमाबाटै नेवारी परिकार पकाउन सिकेको भन्दै उनले भावी पुस्तालाई समेत सिकाउन जरुरी भएको बताइन् । नेवार जातिका पहिचान गुम्न लागेकोमा दुख व्यक्त गर्दै उनले नेपालका विविध जातजातिमध्ये नेवार जाति पनि एउटा जाति भएकाले नेवारी संस्कृति जोगाउने कर्तव्य सबैको भएको बताइन् ।
प्रकाशित समय १६:०२ बजे

















