गृहपृष्ठ कागजपत्र लिन थप दुईवटा ट्राफिक कार्यालयमा प्रविधि विस्तार
कागजपत्र लिन थप दुईवटा ट्राफिक कार्यालयमा प्रविधि विस्तार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले सञ्चालनमा ल्याइरहेको Traffic Violation Record System (TVRS) Software आजदेखि लागू हुनेगरी महानगरीय ट्राफिक प्रहरी वृत्त, सिंहदरवार र महानगरीय ट्राफिक प्रहरी वृत्त, जनसेवामा समेत विस्तार गरेको छ ।
सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता लिन सरल र सहज होस् भन्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । यसले सम्बन्धित एरियाको ट्राफिक कार्यालयबाट नै कागजपत्रका प्राप्त गर्ने हुँदा महाशाखामा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनले बताए । उनका अनुसार सिंहदरवार एरियाका कारवाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी वृत्त, सिंहदरवारबाट तथा जनसेवा एरियामा कारवाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरेपश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ ।
यसअघि सो सेवा महाशाखासहित महाराजगञ्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध, कोटेश्वर, भक्तपुर, नयाँ बसपार्क तथा गौशालाबाट प्रदान गर्दै आएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘मापसे, लेनर रात्तो बत्ती (Red light) कारवाहीमा परेका कागजपत्रहरू भने महाशाखावाट सचेतना कक्षापश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ,’ उनले भने ।
प्रकाशित समय १७:०३ बजे

















