गृहपृष्ठ नेपालको राष्ट्रियतामाथि पटक‑पटक प्रहार गर्ने जी न्युजलाई बोलाएर प्रधानमन्त्रीले दिए अन्तर्वार्ता
नेपालको राष्ट्रियतामाथि पटक‑पटक प्रहार गर्ने जी न्युजलाई बोलाएर प्रधानमन्त्रीले दिए अन्तर्वार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रियतामाथि प्रहार गर्न अभियान नै चलाइरहेको भारतीय च्यानल जी न्युज टिमलाई बोलाएर अन्तर्वार्ता दिएका छन् । भारतमा थुप्रै प्रतिष्ठित र इज्जतिला सञ्चारमाध्यम भए पनि कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा अनेकन् नकारात्मक टिप्पणी गर्दै नेपालको उछितो काढिरहेको च्यानललाई बोलाएर प्रधानमन्त्रीले अन्तर्वार्ता दिएका हुन् ।
अन्तर्वार्ताका क्रममा भारत र नेपालबीचका विवादित विषयका साथै चीनसँगको नेपालको सम्बन्धका विषयमा सन्तुलित ढंगले प्रस्तुत भएका प्रधानमन्त्रीले जी न्युजलाई बोलाउनु नै गलत भएको टिप्पणी सर्वत्र भइरहेको छ । नेपालको राष्ट्रियता खण्डित पार्ने काम गर्दै आएको जी न्युज टिमलाई प्रधानमन्त्रीले सगरमाथानजिकैको कालापत्थरसम्म पुग्न दिएर नेपाल र नेपालीको स्वाभिमानमा आँच पुग्ने अर्को कृत्यका लागि अवसर दिएका छन् ।
विगतमा बन्द स्टुडियोबाट सगरमाथामाथि धावा बोलिरहेका जी न्युजका सम्पादक सुधीर चौधरीले यसपटक कालापत्थरबाटै माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्ने र त्यसका लागि अभियान नै सञ्चालन गर्ने बताए । ‘तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ, माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ,’ उनले कालापत्थरबाट भने ।
तर, बालुवाटारमा बोलाएर न्यायो आथित्य प्रदान गरेको ओली सरकारले अहिलेसम्म पनि चौधरीको उक्त हर्कतको खण्डन गरेको छैन । यसले केपी ओलीको राष्ट्रियतामात्र होइन, भारतसँगको सम्बन्धमाथि पनि संशय पैदा गरेको छ ।
पार्टीभित्रको विवादका कारण सरकारबाट हट्नुपर्ने स्थिति आएपछि पुस ५ गते हठात् गैरसंवैधानिक ढंगले संसद विघटन गरेर चुनाव घोषणा गरेका ओली देशभरबाट आलोचित बनेपछि भारतको निम्नस्तरको मिडिया शरणमा पुगेको अधिकांशको टिप्पणी छ । नेपालका मिडियादेखि उनकै दल नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाज, बुद्धिजीवी र आम नागरिकसमेत ‘संवैधानिक कु’को विरुद्धमा उभिएपछि ओलीले भारतीय मिडियाको सहयोग खोजेका हुन् तर उनको रोजाइमा त्यहाँको गतिलो मिडिया पर्न सकेन, बरु पटक‑पटक नेपालको राष्ट्रियतामाथि प्रहार गर्ने र नेपालीमाथि अनेक लाञ्छना लगाउने च्यानल पर्यो ।
त्यति मात्र होइन, ओली सरकारले महिनौँदेखि सगरमाथामाथि हक जताउने गरी अभियान नै छेडिरहेको च्यानललाई नेपाली भूमिमै, त्यो पनि सर्वोच्च शिखरलाई पृष्ठभूमिमा पारेर दाबी गर्ने अवसर दिएको छ । यसले नेपाली राष्ट्रियता कमजोरमात्र पारेको छैन, नेपाली स्वाभिमानमा समेत आँच पुग्ने काम भएको छ ।
प्रकाशित समय ०७:४८ बजे

















