गृहपृष्ठ कोरोनाबाट हालसम्म ९ करोड २० लाख संक्रमित, १९ लाख ७० हजारले गुमाए ज्यान
कोरोनाबाट हालसम्म ९ करोड २० लाख संक्रमित, १९ लाख ७० हजारले गुमाए ज्यान
२४ घण्टामा साढे ६ लाख संक्रमित थपिए, १५ हजारको मृत्यु
सन् २०१९ डिसेम्बर ३१ तारिकमा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसबाट हालसम्म विश्वभर ९ करोड २० लाख मानिस संक्रमित भएका छन् । भाइरस संक्रमित १९ लाख ७० हजारको ज्यान गइसकेको छ ।
एकै दिनमा ६ लाख ६३ हजार नयाँ संक्रमित थपिएका छन् भने १५ हजार ७११ जनाको मृत्यु भएको छ । विश्वभरका २१६ देश र भूभाग ठप्प बनाएको कोरोनाविरुद्ध उद्गमस्थल चीनले जित हासिल गरिसके पनि विश्वका सर्वशक्तिमान र स्वास्थ्य क्षेत्रमा अब्बल मानिएका देशहरू भने अझै थलापरिरहेका छन् ।
अमेरिकामा मात्रै हालसम्म २ करोड ३३ लाख ६८ हजार संक्रमित फेला परेका छन् भने ३ लाख ८९ हजार ५९९ जनाको ज्यान गइसकेको छ । भारतमा १ करोड ४ लाख ९५ हजार मानिस संक्रमित भएका छन् भने १ लाख ५१ हजार ५६४ जनाको मृत्यु भएको छ ।
बितेका २४ घण्टामा मात्रै अमेरिकामा २ लाख २२ हजार संक्रमित थपिए भने ४ हजार २५९ जनाको ज्यान गएको छ । भारतमा १५ हजार, ब्राजिलमा ६१ हजार र रुसमा २२ हजार र बेलायतमा ४५ हजार संक्रमित थपिएका छन् । बेलायतमा नयाँ खालको संक्रमण देखापरेको छ ।
एकै दिनमा भारतमा २ सय, ब्राजिलमा १ हजार १०९ र बेलायतमा १ हजार २४३ जनाको ज्यान गएको छ । सबैभन्दा बढी ज्यान गुमाउने सूचीमा भारतभन्दा ब्राजिल अगाडि छ । ब्राजिलमा हालसम्म २ लाख ४ हजार ७२६ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा मंगलबारसम्म २ लाख ६५ हजार ६९८ जना संक्रमित फेला परेका छन् भने १ हजार ९३२ जनाको ज्यान गएको छ । कोरोना संक्रमित २ लाख ५९ हजार ३५८ जना निको भइसकेका छन् ।
प्रकाशित समय ०९:१४ बजे

















