गृहपृष्ठ फुटबल एकेडेमी स्थापानका लागि नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारी
फुटबल एकेडेमी स्थापानका लागि नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारी
नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा)बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) निरज बहादुर शाही र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल पुलिस स्कुललाई सहकार्यका लागि एन्फाले छनोट गरेको प्रति हार्दिक आभार प्रकट गरे । समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनको चरणमा लैजानका लागि संगठनको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । फुटबलको विकासमा योगदान पुर्याउन थप अभिभारा आएको उल्लेख गर्दै आइजीपी थापा क्षेत्रीले यसलाई सकारात्मक रुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । नेपाल पुलिस स्कुल फुटबल एकेडेमीको स्थापनाले पुलिस स्कुलको उत्कृष्ट फुटबल खेल हेर्न पाइने अभिलाषा पूरा हुने विश्वास उनले व्यक्त गरे ।
उक्त अवसरमा अखिल नेपाल फुटबल एशोसियसन (एन्फा)का अध्यक्ष शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी र गौरवान्वित भएको बताए । नेपाल प्रहरीको खेलकुद विकासको लागि समझदारीपत्र अनुसार सहयोग गर्न एन्फा सदैव तत्पर रहने प्रतिबद्धता उनले व्यक्त गरे । नेपाल पुलिस स्कुल साँगाको जुनियर कक्षामा अध्ययनरत १३ वर्षमुनिका विद्यार्थीहरुको शैक्षिकस्तर सँगसँगै खेलकुद क्षेत्रमा व्यवस्थित तवरले विद्यार्थीको समग्र व्यक्तित्व विकासको आवश्यकता महसुस भई एन्फाको सहयोग एवं सहकार्यमा नेपाल पुलिस स्कुल साँगा, काभ्रेमा ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ को स्थापना गर्न लागिएको हो ।

एकेडेमीको स्थापनापश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लवले एएफसी कप क्लव लाइसेन्सको लागि तोकिएको मापदण्डमध्ये अधिकांश मापदण्डहरु पूरा भई लाइसेन्स प्राप्त गर्न सहज हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने अवसर प्राप्त हुनेछ । साथै एन्फा, नेपाल पुलिस स्कुल, नेपाल पुलिस क्लव तथा अभिभावकबीच सुमधुर एवं प्रगाढ सम्बन्ध विकास हुनेछ । एकेडेमी स्थापनापछि समग्र व्यवस्थापनको लागि गठन हुने सञ्चालक समितिले खेलाडीको छनोट एकेडेमीको नीति निर्माण, व्यवस्थापन, सुपरिवेक्षण एवं नियन्त्रण सम्बन्धि प्रमुख जिम्मेवारी निर्वाह गर्नेछ ।
प्रकाशित समय १७:३३ बजे

















