गृहपृष्ठ ८० वर्षमा बल्ल नागरिकता !
८० वर्षमा बल्ल नागरिकता !
अर्घाखाँचीको मालारानी गाउँपालिका- ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहे पनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
मानसिक सन्तुलन गुमाएकी महिलालाई मालारानी- ३ का वडाध्यक्ष शोभाखर खनालको पहलमा उनी बसेको छोरीकै घर सन्धिखर्क नगरपालिका- २, कुरमा पुगेर प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासन कार्यालयका टोलीले नागरिकता प्रदान गरेको हो ।
असी वर्षका उमेरमा घरमै पुगेर नागरिकता दिएपछि उनका आफन्त खुशी भएका छन् । नागरिकता नपाएको र हाल ती महिला सन्धिखर्क- २ स्थित छोरीको घरमा बसेकी खबर पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर उनी बसेको स्थानमै पुगेर नागरिकताको सिफारिस तथा सनाखत गरेर नागरिकता प्रदान गरिएको वडाध्यक्ष खनालले बताए ।
नागरिकताको सिफारिस लिन मालारानी गाउँपालिका- ३, खादहमा पुग्नुपर्ने । मानसिक सन्तुलनसमेत गुमाएकी महिलालाई वडा कार्यलय तथा जिल्ला प्रशासन कार्यलयमा समेत ल्याउन असजिलो हुने भएपछि घरमै गएर सबै कागजी प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । नागरिकता नहुँदा वृद्ध भत्तासमेत खानबाट वञ्चित भएकी महिलालाई अबदेखि नागरिकताको आधारमा वृद्ध भत्ता समेत प्रदान गरिने वडाध्यक्ष खनालको भनाइ छ । आफ्नो वडाको मानिस खोजी गरी अर्को नगरपालिकामा समेत आएर नागरिकता दिलाउन पहल गरेकोमा वडाध्यक्षको सबैले खुलेरै प्रशंसा गरेका थिए ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, डीएसपी माधब बुढाथोकी, सशस्त्र प्रहरीका डीएसपी रामकृष्ण महर्जन, मालारानी- ३ का वडाध्यक्ष शोभाखर खनाल लगायतको टोली घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
प्रकाशित समय १३:१२ बजे

















