गृहपृष्ठ निर्वाचनको तयारीमा जुट्दै जिल्ला कार्यालयहरु

निर्वाचनको तयारीमा जुट्दै जिल्ला कार्यालयहरु

सुर्खेतमा मतदाता नामावली अद्यावधिकको काम सुरु

जिल्ला निर्वाचन कार्यालयहरु आगामी बैशाखमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा जुटेका छन् । आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीमा कार्यालयहरु जुटेका हुन् । सुर्खेत जिल्लामा समेत मतदाता नामावली अद्यावधिकको काम सुरु गरिएको छ । गत पौष १६ गतेदेखि आगामी फागुन २१ गतेसम्म सम्पूर्ण काम सक्ने गरी तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् ।

रेग्मीका अनुसार आयोगबाट स्वीकृत कार्यक्रम जिल्ला निर्वाचन कार्यालय पठाउने, प्रमुख नामदर्ता अधिकारी तोक्ने, जिल्ला निर्वाचन कार्यालयबाट तथ्यांक प्राप्त गर्ने, तथ्यांक एकीकरण गर्ने र प्राप्त तथ्यांकको जिल्लागत मतदाता नामावली पीडीएफ तयार गर्ने, सहायक नामदर्ता अधिकारीको छनौट गर्ने, विभिन्न कलष्टरमा जिल्ला निर्वाचन अधिकारी लगायतको तालिम सञ्चालन गर्ने कार्यक्रमहरु भइसकेका छन् । त्यस्तै केन्द्रमा विवरण एकीकरण गर्ने र दोहोरो नाम हटाउने, आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गर्ने, प्रकाशन गर्ने र छपाईमा पठाउने काम अझै हुन बाँकी रहेको उनले बताइन् । सुर्खेत जिल्लामा रहेका सम्पूर्ण १३८ मतदात केन्द्रहरुलाई पुनराअवलोकनसमेत गर्ने गरी आयोगबाट निर्देशन आएको रेग्मीले बताइन् । त्यसको लागि सबै मतदान केन्द्रहरुमा कार्यालयको टोली पुगेर जीपीएसमार्फत फोटो खिची निर्वाचन आयोगमा पठाउनुपर्ने उनले बताइन् । रेग्मीले सुर्खेतको पश्चिम क्षेत्रमा यो काम सकिएको भए पनि पूर्वी क्षेत्रमा भने काम अझै बाँकी रहेको जानकारी दिइन् ।

निर्वाचनको सम्पूर्ण प्रक्रिया तयारीको मितिसमेत तोकिएको उनले बताइन् । जसमा कार्यालयको सूचना तथा मतदाता नामावली प्रकाशन आगामी माघ १५ गते, प्रकाशित नामावलीमा भएको त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा भएमा एकस्थानमा मात्र कायम गर्न निवेदन दिने, प्रकाशित नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनको लागि सूचना दिने, बसाई सरी अन्यत्र गएका लगायतको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्ने गर्ने माघ १६ गतेदेखि माघ १७ गतेसम्म मिति तोकिएको हो । त्यस्तै मतदाता नामावलीमा झुट्टा विवरण दिएकोमा प्रमाणसहित सफाईको मौका दिने माघ १८ र १९ गते, प्रकाशित नामावलीमा भएको त्रुटि सच्याउनको लागि प्रमुख निर्वाचन अधिकारी समक्ष पेश गर्नको लागि विवरण तयार गर्ने १८ गतेदेखि २० गतेसम्म मिति तोकिएको हो ।

रेग्मीले निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा गर्न फागुन २ गतेसम्म मिति तोकिसकिएको बताइन् । उनले निर्वाचनका लागि जिल्ला कार्यक्रम तथा अनुगमन समिति र स्थानीय सहयोग समन्वय तथा प्रचारप्रसार समितिसमेत रहने उनले बताइन् । उनले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रक्रियाको लागि मतदाता नामावली दर्ता नगर्ने बताइन् । गत पुष ५ गते आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको थियो ।

सुर्खेतमा थपिए करिब १५ हजार मतदाता

सुर्खेतमा करिब १५ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमा गरी १४ हजार ८९९ नयाँ मतदाता थपिएका ह्न् । २०७४ सालको निर्वाचनमा सुर्खेतमा २ लाख ४ हजार ५७७ मतदाता रहेका थिए । आगामी निर्वाचनको लागि संकलन गरिएको विवरणमा थप १४ हजार ८ सय ९९ मतदाता थपिएका हुन् । योसँगै सुर्खेतमा दुई लाख १९ हजार ४७६ मतदाता पुगेका हुन् । जसमा सबैभन्दा बढी मतदाता वीरेन्द्रनगर नगरपालिमा थपिएका छन् ।

पहिले ५८ हजार ६४४ मतदाता रहेको वीरेन्द्रनगरमा अहिले ६२ हजार ३२७ मतदाता पुगेका छन् । त्यस्तै भेरीगंगा नगरपालिकामा पहिले २६ हजार ५०४ रहेकोमा हाल २८ हजार ६२०, लेकवेशी नगरपालिकामा पहिले १८ हजार ८४९ रहेकोमा हाल २० हजार १६३ मतदाता रहेका छन् । त्यस्तै पञ्चपुरी नगरपालिकामा १८ हजार ६ सय ५३ रहेकामा हाल २० हजार १ सय ८६, गुर्भाकोट नगरपालिकामा २८ हजार ४८६ रहेकोमा हाल ३० हजार ३९५, बराहताल गाउँपालिकामा १४ हजार ८३५ रहेकोमा हाल १६ हजार ११, सिम्ता गाउँपालिकामा १५ हजार ८६१ रहेकोमा हाल १७ हजार ९१, चिङगाड गाउँपालिकामा ९ हजार ५६० मतदाता रहेकोमा हाल १० हजार ३५२ र चौकुने गाउँपालिकामा १३ हजार १८५ रहेकोमा हाल १४ हजार ३३१ मतदाता रहेको सुर्खेत जिल्ला प्रमुख निर्वाचन अधिकारी रेग्मीले बताइन् । यद्यपी थपिएका मतदातामा केही संख्या घटेर आउने उनले बताइन् । ‘निर्वाचनका सम्पूर्ण प्रक्रिया पुरा भएका छैनन्, उनले भनिन्, ‘सबै प्रक्रिया पूरा भएपछि आयोगले पठाएको नामावली नै अन्तिम हुन्छ ।’

नागरिकता पाएकाहरुले नामावली दर्ता गर्न पाउनुपर्ने माग

निर्वाचनको मिति तोकिएपछि नागरिकता पाएकाहरुले नामावली दर्ता गर्न पाउनुपर्ने माग राजनीतिक दलहरुले गरेका छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय सुर्खेतले आयोजना गरेको मतदाता नामावली अद्यावधिक सम्बन्धित अन्तक्र्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले मतदाता नामावली निरन्तर दर्ता गर्नुपर्ने बताए ।

निर्वाचनको मिति तोकिएपछि नागरिकता पाएकाहरु मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रियामा सहभागी हुन नपाउने भन्दै यसलाई निरन्तरता दिनुपर्ने माग रेग्मीले राखेका हुन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द सुवेदीले समेत राज्यलाई दोहोरो खर्च हुनबाट बचाउनुपर्ने बताए । उनले नागरिकता प्राप्त गर्ने बित्तिकै मतदाता नामावलीमा नाम दर्ता हुने प्रक्रियालाई निर्वाचनको मिति तोकिए पनि रोक्न नहुने बताए । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले मतदाता नामावली अद्यावधिक सम्बन्धि प्रस्तुतीकरण राखेकी थिइन् ।

प्रकाशित समय १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु