गृहपृष्ठ उपत्यकाको ट्राफिक व्यवस्थापनमा सघाउन स्काउट स्वयंसेवक परिचालन
उपत्यकाको ट्राफिक व्यवस्थापनमा सघाउन स्काउट स्वयंसेवक परिचालन
महानगरीय ट्राफिक महाशाखाले नेपाल स्काउटको सहकार्यमा स्काउटका १ सय जना स्वयंसेवकलाई उपत्यकामा स्वयंसेवकको रुपमा खटाएको छ । महाशाखाले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच स्वयंसेवक परिचालनको उद्घाटन गरेको हो ।
नेपाल स्काउटका प्रमुख आयुक्त लोक बहादुर भण्डारीले विगतदेखि नै स्काउटले ट्राफिक महाशाखासँग सहकार्य गर्दै आइरहेको र निरन्तर सहकार्य गरेर अघि बढिरहने प्रतिवद्धता व्यक्त गरे । विपदमा परेका जोकोहीलाई सहयोग गर्न स्काउट सदैव सक्रियतापुर्वक लागिरहने पनि उनले बताए ।
महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले काठमाडौंको सडकको अवस्थाबारे आमजनता अनभिज्ञ नभएको प्रष्ट पारे । उनले भने, ‘अहिलेको सडकको अवस्था, यसले पारेको असर सबै मानिसको मनमा पसिसकेको छ । सडकको समस्याले आम मानिसलाई घोचेको छ ।’ अस्तव्यस्त बन्दै गइरहेको उपत्यकाको ट्राफिक व्यवस्थापन होस् भन्ने चाहाना व्यक्त गर्दै उनले यसमा स्काउटले महत्वपूर्ण भूमिका निभाएर अघि बढ्न आग्रह गरे । ‘स्काउट स्वयंसेवक परिचालनपछि काठमाडौंको सडकमा केही फरक महसुस हुन सकोस् । यसका लागि सबैले जागरुकताका साथ खट्नु आवश्यक छ,’ उनले भने ।

सडकमा सर्वसाधरणले ट्राफिक नियमको पालना नगरिदिने, पैदलयात्रुले जथाभावी सडक पार गर्ने, चालकले जथाभावी यात्रु ओराल्ने र चढाउने गर्दा सडकमा जाम बढ्ने गरेको एसएसपी भट्टराइको भनाइ छ । जाम कम गर्नको लागि एकल प्रयासले मात्र सम्भव नभएकाले संयुक्त प्रयास आवश्यक रहेको उनले बताए । त्यस्तै उपत्यकाका सडक जोखिमपूर्ण रहेको पनि उनले जानकारी दिए । ‘सडक जोखिमपूर्ण भएसँगै सडकमा उभिएर काम गर्नु पनि निकै जोखिमपूर्ण छ । जोखिम मोलेर स्काउटले जनतामा सहजता ल्याउनुपर्छ भन्ने जुन भाव छ, अब त्यो सडकमा देखिनुपर्छ,’ उनले भने ।
प्रकाशित समय १५:३९ बजे

















