गृहपृष्ठ बृन्दावनमा साढे २० लाखको हाइकिङ रुट

बृन्दावनमा साढे २० लाखको हाइकिङ रुट

बृन्दावनदेखि साहित्यिक पार्कसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु २० लाख ६८ हजार खर्च गरी भीमेश्वर नगरपालिकाले जिलु क्षेत्रमा हाइकिङ रुट निर्माण गरेको छ ।

बृन्दावनबाट गौरीशङ्कर हिमाल, तामाकोशी नदी, शैलुङ र हनुमन्तेका भीमकाय पहाडको मनमोहक दृश्य अवलोकन गर्दै साहित्यक पार्कसम्म यात्रा गर्न सो पदमार्ग निर्माण गरिएको हो । सदरमुकाम चरीकोटबाट एक किलोमिटरको दूरीमा पर्ने सो पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रातः भ्रमण गर्ने उपयुक्त गन्तव्य बनेको छ । उक्त पदमार्ग निर्माणले यहाँका नागरिकको आर्थिक अवस्थामा मजबुत बन्नसक्ने अनुमान गरिएको छ ।

नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा आएको ५१ लाख ७० हजार रूपैयाँमध्ये २० लाख ६८ हजार रूपैयाँ लगानी गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष हरिवंश चौलागाईले बताए । पदमार्ग निर्माणले पर्यटक भित्र्याइ स्थानीयलाई रोजगार सिर्जना गर्ने उद्देश्य रहेको नगरपालिकाका रोजगार संयोजक डम्बर ओलीले जानकारी दिए । ‘आन्तरिक पर्यटन भित्र्याउन नगरपालिकाको अगुवाइमा सिँढी बनाउने काम गरिरहेका छौँ,’ मजदूर तिलक सापकोटाले भने, ‘२०/२० जनाको समूह बनाई महिला पुरुष दुवैले समान ज्याला लिने गरी समान काम गिर रहेका छौँ ।’

प्रकाशित समय ०७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु