गृहपृष्ठ मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको छ : प्रधानमन्त्री
मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको छ : प्रधानमन्त्री
सब-स्टेशन उद्घाटन समारोह ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका- २, खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ३, मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट-दाना सबस्टेशनको बिहीबार उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको २२०/१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा-दाना प्रसारण लाइन र २२०/१३२/३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री ओलीले भर्चुअल उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युतभार कटौती अन्त्य भई विद्युत निर्यात गर्ने अवस्थामा पुगेको तथा बाह्रै महिना विद्युतको निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको बताए । उनले हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशलाई विद्युत बिक्री गरी आयआर्जन गर्न सक्षम हुने बताउँदै उनले निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्नका लागि निर्देशनसमेत दिए ।
प्रधानमन्त्री ओलीले एकदुई वर्षभित्र नेपालमा आवश्यक पर्ने विद्युत आफैँ उत्पादन गर्ने र वर्षायाममा बढी भएको विद्युत भारत र बंगलादेशलाई निर्यात गर्ने गरी तयारी भइरहेको बताए । उनले मुलुकमा सडक यातायात, पुल, झोलुंगे पुल, तुइन विस्थापन र रेल सेवा सञ्चालनका सन्दर्भमा थुप्रै प्रगति भएको बताउँदै पूर्व-पश्चिम रेलमार्ग पनि छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले बागलुङको ढोरपाटन र म्याग्दीको अन्नपूर्णका विभिन्न क्षेत्रमा गत वर्षायाममा बाढीले पुर्याएको क्षतिपूर्ति र पुनःनिर्माणका लागि गम्भीर रूपले सम्बोधन गरिने पनि आश्वासन दिए ।

कार्यक्रमस्थलमै पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताए । उनले विद्युत उत्पादनभन्दा पनि खपतको समस्या रहेको बताउँदै परिमाणमा विद्युत खपत गर्नुपर्ने ठूलो अवाश्यकता रहेको बताए । उनले २०७२ सालमा ओली प्रधानमन्त्री र आफू ऊर्जामन्त्री हुँदा नेपालको ऊर्जा क्षेत्रमा विकास गर्नेगरी ९९ बुँदे गुरुयोजना बनाएको र त्यसैको जगमा उभिएर अहिले ऊर्जा क्षेत्रमा धमाधम काम भइरहेको उल्लेख गरे । उनले विगतमा झोलामा खोला हालेर हिँड्ने अवस्थालाई अन्त्य गरिएको बताउँदै सरकार ‘टेक अर पे’को नीतिअनुसार अघि बढेको बताए ।
प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुश्मा-दाना सबस्टेशन र प्रसारण लाइन आयोजनाका बारेमा जानकारी गराएका थिए । २०७३ साल जेठ १७ गते सुरु भएको योजना गत जेठ १८ मा सम्पन्न हुनुपर्नेमा केही ढिलाइ भएको छ । आयोजनाको अझै तीन प्रतिशत काम सम्पन्न गर्न बाँकी छ । कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले जिम्मा पाएको थियो । (रासस)
प्रकाशित समय १६:५१ बजे

















