गृहपृष्ठ हिमपात : कतै चिन्तित, कतै उत्साहित
हिमपात : कतै चिन्तित, कतै उत्साहित
बाली सप्रने आसामा उत्साहित किसान
फाइल तस्बिर
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा बाक्लो हिमपात भएको छ । योसँगै खप्तडलगायत मध्यवर्ती क्षेत्रमा चिसो निकै बढेको छ । बिहीबार राति र शुक्रबार बिहान खप्तड क्षेत्रमा हिमपात भइ चिसो बढेको झिग्रानाका होटल व्यवसायी दीपकबहादुर खड्काले बताए । उनका अनुसार सुख्खा याममा चारैतिर दलदले मैदान भएको खप्तड हिउँदमा भने ‘हिरा’जस्तो चम्किलो देखिएको छ ।
समुन्द्री सतहबाट २७ सयदेखि ३८ सय मिटरको उचाइमा पर्ने खप्तड भू-स्वर्गको उपमाले परिचित छ । हिउँदे यादमा सेताम्य देखिने खप्तडका डाँडाकाँडामा तापक्रम माइनस पाँच डिग्री तल झरेको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम देखिएको निकुञ्जले जनाएको छ ।
भारी हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुसी भएका छन् । समयमै हिमपात र वर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मंसिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघमा मात्र हिमपात भएको छ । चिसोले मध्यवर्ती क्षेत्रका बालबालिका र वृद्धवृद्धामा बढी प्रभावित भएका छन् ।
खप्तडको ऐतिहासिकता
पौराणिक कालमा ऋषिमुनिहरुले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रुपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंम्बदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरुले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ ।
विसं २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि खप्तडले पर्यटकलाई आकर्षित गर्दै आयो । समुद्र सतहबाट २४–३७ सय मिटर उचाइ र २२५ वर्गकिमी क्षेत्रफलमा फैलिएको खप्तडमा ५० वर्षअघि खप्तड बाबाले तपस्या गरेका थिए । खप्तड बाबाको आगमनपछि स्थानीयले राजा वीरेन्द्रलाई आग्रह गरेपछि २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्ज घोषणा गरियो । त्यसपछि दुई सयभन्दा बढी प्रजातिका फूलहरु र बहुमूल्य जडिबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जंगली जनावर र पन्छीको सुरक्षाका लागि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरियो ।
विसं २००२ सालमा बझाङी राजा रामजंग सिंहको अगुवाइमा खप्तडका जंगलमा तपस्या गरिएको थियो । त्यसपछि खप्तड देवभूमिका रुपमा प्रख्यात हुँदै गयो । देश-विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचारप्रसार गरेपछि खप्तडको महिमा बढ्दै गएको छ ।
प्रकाशित समय १३:४१ बजे

















