गृहपृष्ठ निर्वाचन तयारीबारे जानकारी लिँदै प्रधानमन्त्रीले भने- आवश्यक स्रोतसाधनको कुनै कमी हुँदैन

निर्वाचन तयारीबारे जानकारी लिँदै प्रधानमन्त्रीले भने- आवश्यक स्रोतसाधनको कुनै कमी हुँदैन

आयोग परिसरमा प्रधानमन्त्री ओली ।

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे अवगत गराएका थिए । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो ।

आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले गरिरहेको तयारीबारे प्रधानमन्त्रीले जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त सहितका आयुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन गरेको प्रेस सल्लाहकार थापाले बताए । उनका अनुसार निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले त्यसका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्काे निवेदन पनि प्राप्त भएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानुन, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गरेका थिए । प्रधानमन्त्री ओलीले मूलतः निर्वाचनको तयारी सम्बन्धमा भइरहेको कामको जानकारी लिन आयोग गएको र कुराकानी त्यसमा नै केन्द्रित रहेको सल्लाहकार थापाले स्पष्ट पारे ।

प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट निर्वाचनसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिएका पूर्वसभामुख सुवास नेम्वाङलगायत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता आयोग पुगेका थिए ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु