गृहपृष्ठ प्रदेशमातहत सुरक्षा निकाय नभएकै कारण बलात्कार र हत्याका घटना बढेका हुन् ?

प्रदेशमातहत सुरक्षा निकाय नभएकै कारण बलात्कार र हत्याका घटना बढेका हुन् ?

बलात्कारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका सहभागी । फाइल तस्बिर ।

नेपालमा बलात्कारका घटनाले दिनहुँजसो भइरहेका छन् । कतिपय घटना डर, धाक र धम्की या प्रलोभनमा गुपचुपमै मिलाइन्छन् । कतिपय यसै मिलाइन्छन् । बाहिर आएर पनि ठूलो चर्चा पाउने घटना निकै कम हुन्छन् ।

सुदूरपश्चिममा निकै चर्चामा आएको घटना हो‑ कञ्चनपुरकी १३ वर्षीया किशोर निर्मला पन्तको बलात्कारपछिको हत्या । त्यो घटनाले विश्वव्यापी चर्चा पायो । न्यायकै लागि आन्दोलनमा उत्रिएका एक युवकले ज्यानै गुमाउनुपर्‍यो । कयौँ घाइते बने । कयौँ पूर्ण अशक्त बने ।

निर्मला पन्तको घटनालाई लिएर प्रदेशदेखि केन्द्र सरकारसम्मले निकै गम्भीरता देखाएको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर  थापादेखि सुदूरपश्चिमका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीले अपराधीलाई पक्राउ र कारबाही गर्ने प्रतिबद्धता जनाए ।

सुदूरपश्चिमका कानुनमन्त्री प्रकाशबहादुर शाहले त ‘निर्मलाको बलात्कारीलाई अन्तरिक्षमा भए पनि पक्राउ गर्छौँ’ भनेर सार्वजनिक कार्यक्रममा उद्घोष नै गरे । तर, दुई वर्ष बित्यो, केन्द्र र प्रदेश सरकारले कुनै नतिजा दिन सकेनन् न त अनुसन्धानमा गम्भीरता नै देखियो । संघ र प्रदेश सरकार एउटै पार्टीको हुँदा संघसँग समन्वय गरेर निर्मलाका बलात्कारी पक्राउ गर्छौँ भनेको प्रदेश सरकारले पनि प्रतिफल दिन सकेन ।

अहिले त्यस्तै प्रकृतिको घटना बैतडीमा भएको छ । दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्ट माघ २२ गते मृत अवस्थामा फेला परिन् । माघ २१ गते घरबाट विद्यालय गएकी भागरथी नफर्किएपछि खोजी गर्दा अर्को दिन मृत भेटिइन्, त्यो पनि क्षतविक्षत अवस्थामा । उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ ।

निर्मला हत्या प्रकरणमा देश तात्यो । विश्व समुदायको ध्यानाकृष्ट भयो । प्रदेश सरकारको सक्रियता फरक ढंगको थियो । तर, भागरथी हत्या प्रकरणमा प्रदेश सरकार निकै सुस्त देखिएको छ । केन्द्र सरकारका कुनै मन्त्रीले भागरथी हत्या प्रकरणमा बोलेकासम्म छैनन् । कतिपयले यसलाई सत्तारुढ पार्टी विभाजनको प्रभावका रुपमा हेरेका छन् ।

केन्द्र र प्रदेशमा एउटै पार्टीको सरकार रहेका बेला गम्भीर बनेको प्रदेश सरकार अहिले किन गम्भीर बन्न सकेन ? यस विषयमा अनेक अड्कलबाजी भइरहेका छन् । नेकपा विभाजन भएका कारण यस्ता गम्भीर प्रकृतिका मुद्दा ओझेलमा परेको आँकलन भइरहेको छ । कुनै पार्टी विभाजनका कारण यति संवेदनशील विषयमा ओझेलमा पर्नुहुन्छ कि हुँदैन ? आमजनताले प्रश्न उठाउन थालेका छन् ।

कैलालीको गोदावरीमा आयोजित सुदूरपश्चिम प्रदेश पत्रकार महासंघको दोस्रो साधारण सभामा प्रदेशका कानुनमन्त्री शाहले यसपटक अन्तरिक्षमा भए पनि पक्राउ गरेर कारबाही कुरा गरेनन् । बरु फरक ढंगले आफ्नो अक्षमता सार्वजनिक गरे । ‘भागरथी भट्टका बलात्कारी तथा हत्यारा चाँडै कानुनी कठघरामा आउनुपर्छ,’ उनले भने, ‘तर अहिलेसम्म केन्द्र सरकारले प्रदेश प्रहरीका लागि अनुमति नदिँदा हामी सुरक्षाको अधिकारबाट वञ्चित छौँ ।’ निर्मला र भागरथीका बलात्कारी र हत्याराहरू पक्राउ नपर्नुको मुख्य कारण केन्द्र सरकारले प्रदेशलाई सुरक्षा निकायको जिम्मेवारी नदिनु भएको उनको जिकिर छ ।

‘केन्द्र सरकार प्रदेशलाई अधिकार नै नदिएको परिप्रेक्ष्यमा मुख्यमन्त्री र मन्त्रीको अगाडि आएर न्याय माग्दै आन्दोलन गर्नुको कुनै औचित्य नरहेको उनको तर्क छ । ‘प्रदेश सरकारसँग सुरक्षा निकाय नै छैन, कहाँबाट न्याय दिने ?’ उनले प्रश्न गरे । केन्द्र सरकारले प्रदेशलाई सुरक्षा निकाय सुम्पिन नसकेकै कारण यस्ता जघन्य अपराधका घटना दोहोरिइरहेको उनको निष्कर्ष छ ।

प्रकाशित समय १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु