गृहपृष्ठ सुर्खेतमा ‘धार्मिक शिव महोत्सव’ हुँदै, यस्तो छ उद्देश्य
सुर्खेतमा ‘धार्मिक शिव महोत्सव’ हुँदै, यस्तो छ उद्देश्य

सुर्खेतको प्रख्यात धार्मिकस्थल वीरेन्द्रनगर–९, लाटीकोइलीमा धार्मिक शिव महामहोत्सव २०७५ आयोजना गरिएको छ । बुधबार मेला आयोजक समितिले पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । साउन ७ देखि १७ गतेसम्म शिव मन्दिरपरिसरमा महोत्सव सञ्चालन हुनेछ । जीवित मन्दिर मानिने लाटीकोइली शिव मन्दिरलार्इ आकर्षक र पर्यटकीय स्थलको रुपमा विकास गर्न मेला आयोजना गरिएको समितिका संयोजक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
हिन्दू धर्मावलम्बीहरुको पुरानो मन्दिर शिवमन्दिर १६३९ सालमा स्थापना भएको थियो । ‘सुर्खेतको प्रख्यात पर्यटकीय स्थल काँक्रेविहारको आडैमा भएको लाटीकोइली शिवमन्दिरमा भक्तजनको भीडलाग्ने तर मन्दिरमा आउने भक्तजनका लागि खानेपानी, शौचालयजस्ता आधारभूत आवश्यकता नभएकाले महोत्सवको आयोजना गर्न लागेका हौँ,’ श्रेष्ठले भने, ‘मेलाबाट उठेको रकमले मन्दिरवरिपरि तारबार तथा शौचालय, फूलबारी र साधु आश्रम निर्माण गरिनेछ ।’ शिव मन्दिर लागुपदार्थ प्रयोगकर्ताको थलो बन्दै गरेको भन्दै उनले यसलाई भक्तजनको आकर्षणको थलो बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।
मेलामा करिब १ करोड रकम उठ्ने अनुमान गरिएको छ । स्थानीय तह, विभिन्न गैरसरकारी संस्था तथा धार्मिक संघसंस्थाबाट र केही रकम दाताबाट सहयोगस्वरुप प्राप्त हुने अपेक्षा रहेको महोत्सव प्रचारप्रचार संयोजक मिलन श्रेष्ठले बताए । महोत्सबबाट करिब ३ हजार शिवयन्त्र वितरण गरी त्यसबाट समेत रकमको जोहो गरिनेछ ।
महोत्सवमा गोविन्दशरण महाराज र अठार पुराणका बाचक गुरु पण्डित श्री नारायण न्यौपानेबाट कथा प्रवचन हुनेछ । महोत्सवमा शिवपुराण, योग, शिव भजनकीर्तन तथा विभिन्न धार्मिक प्रस्तुति, लक्ष्यवत्ती प्रज्वलन, सामूहिक व्रतबन्ध, गाईको परिक्रमा गरी गोदानलगायतका कार्यक्रम रहनेछन् । महोत्सवमा रकम दान गर्ने दाताहरुलाई खादा तथा दोसल्ला ओडाएर सम्मान गरिने आयोजनले जनाएको छ ।
प्रकाशित समय ०७:५२ बजे