गृहपृष्ठ महाकालीमा अन्त्येष्टिघाट बनाइने

महाकालीमा अन्त्येष्टिघाट बनाइने

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली तटीय क्षेत्र ऐरीमा दाहसंस्कारका लागि अन्त्येष्टिघाट बनाइने भएको छ ।
अन्त्येष्टि घाट बनाउनका लागि तीन करोडमा ठेक्का सम्झौता गरिएको छ । शनिदेव निर्माण सेवा कम्पनीसँग घाट निर्माणका लागि ठेक्का गरिएकाले असोज महिनादेखि कार्य शुरु हुने शहरी डिभिजन क्षेत्रीय कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए । सम्झौता भएदेखि डेढ वर्षमा कार्य सकिने घाटमा एकै पटक छवटासम्म शव जलाउन सकिने गरी डिजाइन तयार गरिएको छ ।
घाट महाकाली नदीमा बन्न लागेको छ लेनको पुलको पूर्व भागसँग जोडिएको क्षेत्र भुजेलामा नदी र छलेनको बाटोको बिचमा निर्माण हुने छ ।
घाटको संरचना ५० मिटर लम्बाइ र २५ मिटर चौडाइमा रहने छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले अन्त्येष्टि घाट निर्माणका लागि चार करोड ५० लाखको ठेक्का आह्वान गरेको थियो ।
तीन वर्षसम्म सञ्चालन हुने सघन शहरी विकास कार्यक्रमअन्तर्गतका महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण पहिलो नम्बरमा राखिएको छ ।
महाकाली परमधाम शान्तिघाट जिल्ला समितिका अध्यक्ष तारादत्त जोशीले घाट निर्माणका लागि ठेक्का सम्झौता गरिएपछि वर्षौंदेखिको सपना पूरा हुन लागेको बताए ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले शारदा ब्यारेज नजिक नदीमा दाहसंस्कारमा अवरोध गर्न थालेपछि जोशीलगायतले घाट निर्माणका लागि अभियान चलाएका थिए ।
घाट निर्माणका लागि ब्रह्मदेव, झोलुंगे पुल, ओदालीलगायतका अन्य स्थानलाई सम्भाव्य क्षेत्रका रुपमा हेरिएको थियो । घाट निर्माणको कार्यलाई नगरको गौरवको योजना अन्तर्गत समेत राखिएको छ । (रासस)

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु