गृहपृष्ठ निर्मला हत्याकाण्ड : २६ दिनसम्म अनुसन्धान, उपलब्धि शून्य !

निर्मला हत्याकाण्ड : २६ दिनसम्म अनुसन्धान, उपलब्धि शून्य !

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भएको २६ दिन पुगिसक्दा पनि प्रहरीले हत्यारा सार्वजनिक गर्न सकेको छैन । हत्यारा सार्वजनिक गर्न माग राख्दै अभिभावकसहित आमा समूह, स्थानीय, महिला अधिकारकर्मी र नागरिक समाजले आन्दोलन गरिरहेका छन् ।

 

सोमबार पनि कञ्चनपुरमा निर्मला हत्याकाण्डको विरोधमा प्रदर्शन भएको छ । महिला नेतृ हेलन श्रेष्ठको नेतृत्वको दबाबमूलक संघर्ष समिति र अधिकारकर्मी मीना भण्डारी संयोजकत्वको नागरिक संघर्ष समितिले हत्यारा सार्वजनिकको माग राख्दै आन्दोलन गरेका हुन् । आइतबार ४ घण्टा रिले अनसन बसेका महिला अधिकारकर्मी र नागरिक समाजले सोमबार बिहान ७ बजे बाट जिल्ला प्रशासनको मूल गेटमा टेण्ट राखेर रिले अनसन शुरु गरेका छन । दुवै संघर्ष समितिले निर्मलाका हत्यारा सार्वजनिक नभएसम्म र पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । महिला अधिकारकर्मीले जतिसक्दो छिटो हत्यारा सार्वजनिक नभएमा ६ गतेबाट आमरण अनसन बस्ने चेतावनी दिएका छन ।

निर्मला हत्याकाण्ड अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरी सक्रिय छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिलेसम्म १५० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ । कञ्चनपुर प्रहरीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।

घटना स्थलदेखि सम्भाव्य क्षेत्र र शंस्कापद व्यक्तिलाई प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । गत साउन १० मा होमवर्क गर्छु भन्दै साथी रोशनी बमको घर गएकी निर्मला ११ साउन शुक्रबार बिहान भीमदत्त नगरपालिका १८ निम्बुखेडा खोला नजिकै रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कार पछि घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ ।

स्थानीय वासिन्दा, महिला अधिकारकर्मी, परिवारजन र आन्दोलनकारीले प्रहरीको अनुसन्धान कार्यमासमेत प्रश्न उठाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानलाई प्रभावकारी ढंगबाट अघि नबढाएको आरोप अधिकारकर्मीहरुको छ ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु